STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आएन दशँै दलित बस्तीमा

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १६, बिहिबार

प्रदेश नं २ का आठ जिल्लामा दशँैको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले।” । एक साठी ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही थोत्रो लुगामा फोहरमैलामा खेलिरहेका छन् । बस्तीमा दशैँको उल्लास देखिएको छैन । “दुई छाक टार्न धौ धौ हुन्छ, बच्चाहरु नाङ्गै छन्, हाम्रो केको दशँै हुनू रु हाम्रो लागि त दशैँ होइन दशा पो रहेछ”, स्थानीयवासी बाबुलाल माझी टाउकामा हात राखी पीडा पोख्नुहुन्छ, “यस पालि मात्रै हो र, हाम्रो लागि त प्रत्येक वर्ष दशैँ दशा मात्र हुँदो रहेछ ।” गाउँकै अन्य बस्तीमा दशैँको रमाइलो छाएको छ । नयाँ नयाँ लुगा, मीठो खानेकुरा को चलन छ त दलित बस्तीमा भने भात नै ठूलो कुरा भएको छ । “मीठो मसिनो खाने र नयाँनयाँ लुगा लगाउने कसलाई मन पर्दैन”, बस्तीका भरछिया माझी भन्नुहुन्छ, तर हामीले आफ्ना बालबालिकालाई दुई छाक दाल, भात, तरकारी खुवाउनु भनेको सपना जस्तो भएको छ ।” बस्तीका बालबालिका मासुको एक चोक्टा पनि नपाउँदा नदीखोलामा चहार्दै माछा, घोघही र गंँगटो मार्न यताउता भौँतारिरहेको देखिन्छ । बस्तीमा राससकर्मी पुग्दा अधिकांश बालबालिकाको शरीरमा कपडा थिएन । त्यहाँका बूढापाकाको एउटै भनाइ थियो, “हाम्रो बालबलिकाको बाँच्ने परिवेश यस्तै हो । नत पेटभीर खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ । सबै मीठो मसिनो खाइरहेका छन् तर हाम्रो घरमा चुल्हो बल्ने स्थिति नै छैन । नजीकको गाउँमा दशैँ मेला लागेको छ । बालबालिकाले मेला भर्न कराइरहेको भए पनि उनीहरुलाई मेला पठाउन सकिएको छैन ।” गएको चुनावका बेला त नेताहरु आएर ठूल्ठूला भाषण गरेर गए तर मुसहर बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्नेतर्फ कसैले ध्यान नदिएको लोरिक माझी बताउनुहुन्छ । माझीले भन्नुभयो, “हाम्रो दैनिकी कसरी बितिरहेको छ कसले हेर्ने रु भोट लिने नेताहरु आजसम्म फर्केर आएका छैनन्, हामी त भोट बैंँक मात्र हौँ ।” बारा जिल्लाको सदरमुकाम कलैयाको बरियारपुर सडक खण्डको भुतही पुलदेखि करीब दुई किमीको दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादव बताउनहुुन्छ । मजदूरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरुले चाडपर्वमा रमाइलो गर्नु भनेको मीठो सपना देख्नु मात्र भएको यादवको भनाइ छ । सधैँ अभाव र पीडामा बाँचिरहेका मुसहरहरु छाप्रो तथा छानाविहीन घरमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै तनु माझी भन्नुहुन्छ, “न त घरमा अन्न छ न वस्त्र नै, शिक्षाको कमीको कारण मजदूरी नै जीविकोपार्जन गर्ने माध्यम भएकोले सधैँभरि साहु महाजनको ऋृणमा नै डुब्नुपर्छ । रोजगारीको अर्को विकल्प हामीसँंग छैन ।” दशैँ जस्ता चाडपर्व त धनी मानिसको लागि भएको र चाडपर्व आउँदा आफूहरु झन् ऋृणमा डुब्ने गरेकाले आफ्ना लागि यस्तो चाडपर्व नआइदिए हुने लक्ष्मण सदा बताउनुहुन्छ । उहाँले पीडा पोख्दै भन्नुभयो, “हामी त नेताहरुको लागि भोट बैंक भएकोले सबै दलले हामीबाट फाइदा मात्र लिने गर्छन् ।” मुसहर बस्तीमा जसोतसो गरी भात पाके पनि दाल र तरकारीको समस्या हुने गर्छ । दाल, तरकारी किन्ने पैसा छैन । दैनिकी ज्यालादारी गरी ल्याइएको चामल पकाउँदा भात त पाक्छ तर दाल तरकारीको समस्या भने यथावत रहने सेवकी सदा जानकारी दिनुहुन्छ । सङ्घीय सरकारले नै दलितलाई हेला गरेको र प्रदेश सरकारले पनि बेवास्ता गरेको दलित अधिकारकर्मी सिकेन्द्र पासवान आरोप लगाउनुहुन्छ ।
Categorized in विचार