STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन आग्रह

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १, आइतबार

मिडियामा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन रुपन्देहीका उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् । समाचार सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा लुम्बिनीमा शनिबार साँझ आयोजना गरिएको मिडियाका सम्पादक र उद्योगी व्यवसायीबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । मिडियाले जहिले पनि राजनीतिक विषयलाई प्राथमिकता दिँदा उद्योगी व्यवसायीका समस्या ओझेलमा परेको उनीहरुले गुनासो गरे । उनीहरुले उद्योगका क्षेत्रमा भएका नवीनतम प्रगति, समस्या र विकास निर्माणका विषयलाई जोडदाररूपमा उठाउन आग्रह गरे । कार्यक्रममा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सरकारले गरेका राम्रा कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरे पनि मिडियाले राम्राभन्दा नकारात्मक पक्षलाई जोड दिएको बताउनुभयो । प्रदेशसभा सदस्य फकरुद्धिन खानले सरकार सबैको अभिभावक भएकाले सबै पेशाकर्मीको समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले राजनीतिक हिसाबले विभाजित भएका कारण पत्रकारहरुले निष्पक्षरुपमा कलम चलाउन नसकेको धारणा राख्नुभयो । उहाँले पत्रकारसँग टाढा हँुदा निजी क्षेत्रका सही सूचना बाहिर नजाने भएकाले राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकार र उद्योगीबीच समाचारका विषयलाई लिएर छलफल हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा अग्रज पत्रकार मोहन मैनाली, पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईंले पत्रकारले सबै विषयमा कलम चलाउनुपर्ने भएका कारण कहिलेकाहीँ प्राथमिकता दिनुपर्ने विषय छुटेको हुनसक्ने भए पनि मिडियाले उद्योग व्यवसाय प्रवद्र्धनकै पक्षमै समाचार प्रकाशन प्रसारण गर्ने गरेको बताउनुभयो । कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका प्रदेश अध्यक्ष नेत्र पाठकले उद्योगीलाई प्रवद्र्धन गर्न र उद्योगको विकासमा टेवा पु¥याउन मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले यस्ता विषयहरु उठान गर्न सुझाव दिनुभयो । औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले एउटै पत्रकारले शिक्षा, स्वास्थ्य, राजनीति, विकास निर्माणका समाचार लेख्दा कहिलेकाहीँ त्रुटी हुने गरेको बताउनुभयो । कार्यक्रममा रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहनी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टङ्क पोखरेलले सकारात्मक विषयलाई मिडियामा प्राथमिकता दिन सुझाव दिनुभयो । कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी, प्रधानसम्पादक श्याम रिमाल, पत्रकार महासङ्घका अध्यक्ष तथा पदाधिकारी, पूर्वअध्यक्ष, अग्रज पत्रकार, विभिन्न मिडियाका सम्पादक तथा विभिन्न जिल्लाका पत्रकार र उद्योगी व्यवसायीको सहभागिता थियो ।
Categorized in राष्ट्रिय