एकिकृत राप्रपाको चुनाव चिन्ह 'हलो'
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ६, मंगलबार
काठमाडौं – एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयुक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्।
दुई पार्टीबीच एकीकरण गर्ने सहमति भए पनि चुनाव चिन्ह गाई बनाउने वा हलो भन्नेमा विवाद रहँदै आएको छ। विवादका कारण एकिकृत पार्टी अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन्।
पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आइतबार चुनाव चिन्ह हलो बनाउने सहमति गरेका हुन्। तीन अध्यक्षबीच आइतबार भएको सहमति अनुसार सोमबार दुबै पार्टीका कार्यसम्पादन समितिले छलफल गरेर 'हलो'लाई एकीकृत पार्टीको चुनाव चिन्ह बनाउने निर्णय गरेको हो ।
अध्यक्षमध्येका एक कमल थापाले मंगलबार विहानआफ्नो ट्विटरमा चुनाव चिन्हमा सहमति भएको जनाएका छन्। ट्विटरमा थापाले लेखेका छन् 'हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति 'गाई' उपयुक्त चुनावचिन्ह हो। तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु। अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं' ।
Categorized in राजनीति