STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली र प्रचण्डबीच वार्ता हुँदै • प्रचण्ड, झलनाथ र माधव नेपालकाे शीतलनिवास दाैडधुप

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

काठमाडौं - अन्तरसंघर्ष चर्किरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार जाँदैछन् । ओलीलाई भेट्न प्रचण्ड बिहान साढे १० बजेतिर बालुवाटार जान लागेको स्रोतले बतायो । सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुन लागेको नेताहरू बताउँछन् । स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ । ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने एउटा पद भए पनि छाड्नु पर्ने ओली इतर समूहको दबाब छ । दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । तर हालसम्मका वार्ताले सहमतिको प्रयास असफल हुँदै गएपछि नेकपा विभाजन उन्मुख रहेको चर्चा चलिरहेको छ। प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको अध्यावधिक नक्सा जारी गरेपछि आफूलाई भारतले हटाउन लागेको र यो खेलमा पार्टीभित्रैका नेताहरू पनि संलग्न रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि ओलीको पार्टीभित्र र बाहिरबाट आलोचना हुँदै आएको छ। स्थायी कमिटी सदस्यहरूले गैरजिम्मेवार अभिव्यक्तिले पद त्याग्नुपर्ने माग गरेपछि ओलीले पार्टी विभाजनको धम्की दिएका छन् । सोही तयारीअनुसार नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको, संसद अधिवेशन अन्त्य गरेको र ४० प्रतिशत सांसदभन्दा कमले पनि दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउने गृहकार्यमा ओली लागेको चर्चासमेत हुँदै आएको छ । शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको अभिव्यक्ति दिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भनेर झूटो प्रचार गरिएको स्पष्ट पारेका छन् ।

नेकपाका ३ शीर्ष नेता शीतलनिवास

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण लिन नेकपाका ३ शीर्ष नेता शीतलनिवास पुगेका छन् । आइतबार बिहान अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अब पार्टी एक रहन नसक्ने सम्भावना रहेको बताएका थिए । त्यस क्रममा उनले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए । त्यो बाहेक प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रकै नेताहरुले हटाउन खोजेको र राष्ट्रपतिलाई पनि महाभियोग लगाउन खोजेको प्रमाण आफूसाग रहेको दलिल पेश गरेका थिए । प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने वा हटाउने कुनै तयारी नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको यो अभिव्यक्ति आएपछि राष्ट्रपतिसँग वास्तविकता बुझ्न प्रचण्डलगायतका नेताहरु शीतल निवास गएका हुन् ।
Categorized in राजनीति