STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धनुष आकारमा गाउँपालिका भवन बन्दै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

झापा हल्दिबारी गाउँपालिकाको भवन धनुष आकारमा निर्माण हुने भएको छ । 
जिल्लामै पहिलो पटक धनुष आकारको गाउँपालिकाको भवन निर्माण हुन लागेको हो । स्थानीयवासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा रु तीन करोड ९० लाख ७९ हजार ३०३ को लागतमा सो भवन निर्माण हुन लागेको हो । 
हल्दिबारी–५ स्थित निर्माण हुन लागेको सो भवनसंगै ऐतिहासिक धनुष पोखरी रहेको छ । ऐतिहासिक धनुष पोखरीको पहिचान स्थापित गर्ने उद्देश्यले धनुष आकारमा गाउँपालिका भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । 
भवन निर्माणका लागि स्थानीयवासी भूपाल लिम्बूले १० कठ्ठा, खर्कमाया साम्सुहाङले १० कठ्ठा, सन्तोष माङ्युङले चार कठ्ठा, तिलप्रसाद सुवेदीले चार कठ्ठा र माइतराज राईले एक कठ्ठा जग्गा दान गर्नुभएको छ ।
गाउँपालिकको दोस्रो गाउँसभाको नीति तथा कार्यक्रममै ‘द्वार एक, सेवा अनेक’ हुने गरी भूकम्प प्रतिरोधी कार्यालय भवन बनाउने निर्णय भएको अध्यक्ष लिङ्देनले बताउनुभयो । भवन निर्माणका लागि रु पाँच करोड ५१ लाख दुई हजार ८६१ अनुमानित लागत स्वीकृत भए पनि रु तीन करोड ९० लाख ७९ हजार ३०३ मा किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी, काठमाडौँ सुकेधाराले ठेक्का लिएको गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिनुभयो ।
सो कम्पनीसंग आगामी चैत ३० गते निर्माण सम्पन्न गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । 
Categorized in राष्ट्रिय