STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेतृत्व चयनले कार्यकर्तामा उत्साह

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् । बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो । नेकपा बाँकेमा अध्यक्षमा पुराना कम्युनिष्ट नेता तत्कालीन माओवादी केन्द्रका संयोजक आइपी खरेल र सचिवमा तत्कालीन नेकपा एमालेका अध्यक्ष अशोक कोइराला चयन भएकाले पनि कार्यकर्ता पङ्क्तिमा उत्साह देखिएको नेकपा जानकी गाउँपालिका कमिटीका अध्यक्ष पदम धितालले जानकारी दिनुभयो । “कमिटीको पहिलो बैठक बसेर वडातहमा कमिटी गठनको प्रक्रिया र कार्ययोजना अगाडि बढाए पनि जिल्ला तहमा कमिटी नभएका कारण कार्यक्रम गर्न अलमल भएको थियो”, उहाँले भन्नुभयो, “अब जिल्ला नेतृत्वको टुङ्गो लागेको छ, जिल्ला कमिटी चलायमान भएपछि हामीलाई पनि काम गर्न सजिलो हुनेछ ।” नेपालगञ्ज उपमहानगरपालिका कमिटीका सचिव दत्तप्रसाद आचार्यले जिल्ला नेतृत्व चयन नहुँदा सङगठन विस्तार र पार्टीका गतिविधि गर्न धेरै कठिनाइ भएको उल्लेख गर्नुभयो । जिल्ला नेतृत्व चयनले पार्टी कमिटी र सर्वसाधारणसमेत उत्साहित भएको उहाँको भनाइ छ । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले लामो समयसम्मको अन्योलका बीच अध्यक्ष र सचिव सिफारिस भएकाले सबैमा उत्साह ल्याएको बताउनुभयो । अनौपचारिकरूपमा पार्टीका काम शुरु गरे पनि शपथग्रहणलगत्तै योजनाबद्ध तरिकाले अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय तह कमिटीलाई वडातहमा कमिटी गठन गर्न र कमिटीलाई चलायमान बनाउन अनुरोध गरेको नेकपा बाँकेका कार्यदल सदस्य गोपाल गिरीले बताउनुभयो । बाँकेमा तत्कालीन नेकपा एमालेका अशोक कोइराला र गोपाल गिरी तथा तत्कालीन नेकपा माओवादी केन्द्रका अकल बम र प्रकाश सुवेदी नेकपा कार्यदल सदस्य रहनुभएको थियो ।
Categorized in राष्ट्रिय