STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल संवत् र म्हपुजा

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २९, बुधबार

काठमाडौँ - नेपाल संवत् ११४४ आज मंगलबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए।

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरे । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

म्हपुजा

यही दिन नेवार समुदायमा म्हपुजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्ह) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।

भक्तपुरमा आत्मपूजा पनि हिजो सोमबार नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो ।

देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्ह (आत्म) पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्ह) पूजा आज गर्नुपर्ने जनाएको छ ।

Categorized in राष्ट्रिय