STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालीघरे प्रथाविरुद्ध अभियान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

परम्परागत बालीघरे प्रथा हटाउन काठेखोला गाउँपालिकाका दलित समुदायले अभियान थालेका छन् । आगामी पुसभित्र काठेखोलालाई बालीघरे प्रथामुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।
‘दलित बालीघरे प्रथाविरुद्ध साझा अभियान’ सञ्चालन गरिएको दलित अगुवाले जनाएका छन् । दलित समुदायलाई सशक्त र सङ्गठित गर्न अभियान थालिएको हो । बालीघरे प्रथाविरुद्ध जागरण अभियान चलाउन गाउँ कार्यपालिका सदस्य सुन्तली विकको अध्यक्षतामा दलित सञ्जाल गठन गरिएको छ ।
सञ्जाल गठन र अभियान सञ्चालनमा गाउँपालिकाले नै पहल लिएको हो । “समाजमा रहेका सबैखाले बालीघरे प्रथा अन्त्य गर्छौँ”, अध्यक्ष विकले भन्नुभयो, “दलितको हरेक पेशालाई व्यावसायिक बनाउन आवश्यक छ ।” आरनको कालिगढीदेखि हरेक श्रमको मूल्य अन्नबालीमा नभई नगद ज्यालामा तोकिनुपर्ने उहाँको भनाइ छ ।
बालीघरे प्रथाले जातीय विभेदलाई समेत संरक्षण गरेको दलित अगुवाको बुझाइ छ । सीप र श्रममा अब्बल दलित समुदायमाथि बालीघरे प्रथाको नाममा सदियौँदेखि शोषण र विभेद हुँदै आएको छ । गाउँघरमा विशेषगरी आरन र कपडा सिलाउने पेशा बालीघरे प्रथामा चल्दै आएको छ ।
वर्षभरि काम गरेर दुई÷चार पाथी अन्नमा चित्त बुझाउनुपर्ने अवस्था रहेको स्थानीय आरन व्यवसायी धनबहादुर विकले बताउनुभयो । “कामको उचित पारिश्रमिक पाउने वातावरण बनोस्”, उहाँले भन्नुभयो, “बालीघरे प्रथा अहिलेको समयमा बेठिक छ, यसको अन्त्य हुनुपर्छ ।”
दलित अगुवा र गाउँपालिकाका पदाधिकारी नीतिगतरूपमा पनि बालीघरे प्रथा अन्त्यको घोषणा गर्न सहमत भएका छन् । सामाजिक सचेतना जगाउन सके बालीघरे प्रथा हटाउन समस्या नहुने दलित समुदायको निचोड छ । बालीघरे प्रथाका कारण दलित समुदायको जीविकोपार्जनमा समस्या छ ।
Categorized in राष्ट्रिय