STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ११, सोमबार


जलेश्वर, ११ असोज (रासस) : नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) तथा पिना प्रसादका रुपमा  चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि (मङ्गलबार) बिहान ४ः०० बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार बेलुका ५ः०० बजेपछि मात्रै व्रतीहरुले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताउनुभयो । व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन् ।  यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नूनीको साग र माछा खाने चलन छ । त्यसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ ।

त्यसैगरी विधिअनुसार भोलि एका बिहानै काग कराउनु भन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि विकट उपवासको क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वरका विख्यात पण्डित कालिकान्त झा बताउनुहुन्छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भन्नुभयो, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैले दिवंगत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले  खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदैनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइने हुँदा हत्तपत्त महिलाले यो पर्व अगाल्दैनन् । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनैपर्ने चलन छ । 

Categorized in राष्ट्रिय