राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १७, बुधबार
कात्तिक १७, २०७८ - प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सोमबार भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । सोही दिन गठबन्धनको तर्फबाट राईले प्रदेशसभाका ४९ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
मंगलबार प्रदेश प्रमुख अधिकारीले राईलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
को–को बन्दैछन् मन्त्री ?
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
प्रत्येक दलबाट एक/एक जना मन्त्री बनाइने चर्चा चले पनि कांग्रेसले दाबी नछोडेपछि २ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।
नेपाली कांग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकासमन्त्री बन्ने भएका छन् ।
त्यस्तै माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जनता समाजवादी पार्टीका नेता जयराम यादव सामाजिक विकासमन्त्री बन्नेछन् ।
त्यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्ने गठबन्धनको बैठकले सहमति गरेको उनले बताइन् ।
Categorized in राजनीति

