लकडाउनको भाडा मिनाहा गर्न व्यवसायीको माग
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १३, शनिबार
काठमाडौं । लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।
लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।
महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ।’
अहिले आम व्यवसायीहरुका लागि कोठा भाडा मुख्य चुनौतीको रुपमा देखा परेको भन्दै महासंघले केही दिनको मात्रै नभई लकडाउन अवधिभर पूरैको घरभाडा मिनाहा गर्नुपर्ने बताएको छ ।
महासंघ माताहतको खिचापोखरी व्यापार संघका निवर्तमान अध्यक्ष मनोजबावु श्रेष्ठले व्यवसायीहरु ठूलो समस्यामा परेको भन्दै यतिबेला घरभाडा लिन नहुने बताए ।
Categorized in बिजनेस