STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्यकार बैरागी काइँला र राससकर्मी पौडेल सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ पौष १६, बुधबार

कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ बैरागी काँइला र राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता वासुदेव पौडेल सम्मानित हुनुभएको छ । लेखनाथ साहित्य प्रतिष्ठान र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिद्वारा मङ्गलबार कवि शिरोमणिको जन्मस्थल अर्घौअर्चलेमा संयुक्तरूपमा आयोजित कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा स्थापित लेखनाथ साहित्य पुरस्कार–२०७६ बाट रु ५० हजार नगद, सम्मानपत्र र दोसल्लासहित गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बैरागी काँइलालाई सम्मान गर्नुभयो । त्यस्तै लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार–२०७६ बाट रु ११ हजार १११, सम्मानपत्र र दोसल्लासहित प्रदेश प्रमुख शेरचनले पौडेललाई सम्मान गर्नुभएको थियो । नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै बैरागी काइँलालाई र समाचार लेखनका माध्यमबाट योगदान पु¥याएको भन्दै पौडेललाई सम्मान गरिएको हो । जन्मजयन्तीका अवसरमा आयोजित कविता प्रतियोगितामा विजयी विद्यार्थीका साथै विभिन्न शैक्षिक संस्थाका उत्कृष्ट विद्यार्थीलाई पनि उक्त अवसरमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख शेरचनले साहित्य लेखनका माध्यमबाट लेखनाथ पौड्यालले महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभयो । कवि शिरोमणिको जन्मस्थलमा उहाँको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय निर्माण गर्नुले उहाँको योगदानलाई बचाउन महत्वपूर्ण टेवा पुग्ने बताउँदै प्रदेश प्रमुख शेरचनले जन्मस्थललाई साहित्यको केन्द्रका रूपमा विकास गर्ने गरी भइरहेका प्रयासमा आफ्ना तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले कवि शिरोमणिको जन्मस्थललाई सिर्जनाग्रामका रूपमा विकास गर्ने गरी काम थालिएको बताउनुभयो । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, प्राज्ञ भुवन ढुङ्गाना, कवि तीर्थ श्रेष्ठ, डा शुक्रराज अधिकारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल, साविक लेखनाथ नगरपालिकाका प्रमुख शालिकराम पौडेललगायतले कवि शिरोमणि लेखनाथले नेपाली साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रमपूर्व प्रदेश प्रमुख शेरचन, वरिष्ठ साहित्यकार बैरागी काइँलालगायतले कवि शिरोमणिको जन्मघर, सङ्ग्रहालयलगायतका संरचना अवलोकन गर्दै त्यहाँको समग्र विकासका सम्बन्धमा भइरहेका प्रयास सम्बन्धमा जानकारी लिनुभएको थियो ।
Categorized in राष्ट्रिय