STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ मन्त्री अर्याल

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्छ भन्नुभयो । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको बाटोतर्फ हिँडिरहेको चर्चा गर्दै मन्त्री अर्यालले भन्नुभयो,“अबको बाटो समाजवादोन्मुख हुनुपर्छ, समाजवादमा पुग्नका लागि आर्थिक क्रियाकलाप बढाउनुपर्छ ।” सहकारीलाई गुणात्मक विकास, सुशासन कायम गर्न नीति, कानून निर्माण गरिएको भन्दै उहाँले सहकारीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद केदार सिग्देलले राजनीतिक आन्दोलन सकिएकाले अबको आन्दोलन समृद्धिको हुनुपर्नेमा जोड दिनुभयो । सांसद कृष्णकुमार श्रेष्ठले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने देवकुमार श्रेष्ठ, हरिसिंह गुरुङ, विश्वबन्धु भण्डारी, सुकनारायण मल्ल, रामलीला सुवर्णकार र विकल्प ढुङ्गाना सम्मान गरिएको थियो । सोही अवसरमा मन्त्री अर्यालले सहकारीले रु ७८ लाख ६२ हजारको लागतमा निर्माण गरेको भवनसमेत उद्घाटन गर्नुभएको थियो । विसं २०६३ मा ३२ सदस्यबाट स्थापना भएको सहकारीमा हाल दुई हजार २६५ शेयर सदस्य आबद्ध छन् । रु छ करोड ७२ लाख ७७ हजार शेयर पूँजी रहेको सहकारीले रु १८ करोडभन्दा बढीको कारोवार गरेको सहकारीका अध्यक्ष प्रदीप अधिकारीले जानकारी दिनुभयो । सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, व्यास नमूना खातालगायतका सेवा प्रवाह गर्दै आइरहेको छ ।
Categorized in राष्ट्रिय