STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

 विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै गएको छ ।
उक्त कलेजमा आजदेखि शुरु भएको २६ औँ समूहको कमाण्ड एण्ड स्टाफ कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा विश्वमा विभिन्न १० मुलुकका १० सैनिक अधिकृत सहभागी रहेको कलेजका कमाण्डडेन्ट एवं उपरथी ईश्वर हमालले जानकारी दिनुभयो ।
तालीममा बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र अमेरिकाका सैनिक अधिकृत उक्त तालीममा सहभागी छन् ।
आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट हालसम्म १२ मुलुकका ७३ जना विदेशी सैनिक अधिकृतले कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् ।  विश्वकै सैनिक सङ्गठनमा उक्त तालीम मध्यम तहका अधिकृतको नेतृत्व र क्षमता विकासमा महत्वपूर्ण मानिन्छ ।
नेपाली सेनाका निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले उक्त तालीमको उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्न योगदान पुग्ने पाठ्यक्रमको विकास गर्दै लैजान कलेजलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “कलेजले आफ्नो स्थापनाको लक्ष्य पूरा गर्न सफल भएको छ, सैनिक रणनीति कौशल र अभ्यासलाई युग सुहाउँदो तुल्याउन पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजानुपर्छ ।
त्रिभुवन विश्वविद्यालयले स्नात्तकोत्तर तहको मान्यता दिएको उक्त तालीम ४५ हप्ताको हुनेछ । यस पटकको तालीममा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जनासहित ६३ को सहभागिता छ । नेपाली सेनाका ८७१, अन्य निकायका ४६ जनाले हालसम्म उक्त कलेजबाट कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् । अघिल्लो पटकको तालीममा एक जना महिला अधिकृत उक्त तालीमका लागि छनोट हुनुभएकामा यस पटक भने कुनै पनि महिला अधिकृत प्रारम्भिक परीक्षामा सफल नभएको नेपाली सेनाले जनाएको छ ।
Categorized in राष्ट्रिय