STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अघ्र्य दान गरी समापन गरियो गणेश चतुर्थी व्रत

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित अघ्र्य दिएर यस वर्षको गणेश चतुर्थी व्रत समापन गरिएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण गणेश चतुर्थी व्रत सोमबार हरितालिका तीजकै दिन परेको थियो । सोमबार व्रत बसेका भक्तजनले आज बिहानै पूजासहित अघ्र्य दान गरेर व्रत समापन गरेका हुन् । यस अवसरमा आज पनि उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजासहित गणेशको जन्म महोत्सव मनाइएको छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । गणेशलाई लड्डु, दुवो, रातो फूललगायत चीज प्रिय मानिन्छ । हरितालिका तीज व्रत पारायण भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । यस वर्ष हरितालिका तीज व्रतको पारायण पनि भक्तजनले आजै बिहान गरेका छन् । भाद्र शुक्ल तृतीया र चतुर्थीका दिन पर्ने पर्व विधिपूर्वक समापन गरेका महिला भक्तजनले भने स्नान गरी ऋषि पञ्चमीको कर्म गर्न थालेका छन् । व्रत समापनका दिन मङ्गलबार परेकाले पनि गणेश मन्दिरमा भक्तजनको भीड देखिन्छ । मङ्गल चतुर्थी पर्व नपरेका बेला पनि मङ्गलबार सबै गणेश मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । मङ्गल चतुर्थीसमेत भनिने यस पर्वका अवसरमा नेवार समुदायले चथा पर्वका रूपमा मनाएका छन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । धर्मसभाका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले सोमबार विभिन्न मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गरिएको जानकारी दिनुभयो । दिउँसो गणेश रथयात्रा चलाउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । मङ्गलबार दिउँसो साढे दुई बजे वसन्तपुरस्थित अशोकविनायकबाट रथयात्रा शुरु गरी कमलादी गणेस्थानमा समापन गरिने भट्टराईले जानकारी दिनुभयो । कमलादीमा गणेशको महत्वका बारेमा प्रवचन गरी यात्रा समापन गरिनेछ । धर्मसभाले शुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । विसं २०६५ पछि भाद्र शुक्ल चतुर्थीका दिन बृहत्रुपमा पूजा आराधना शुरु भएको छ । उपत्यकाका सबैजसो गणेश मन्दिर विशेषरुपमा सजाएर महोत्सव एवं रथयात्राको तयारी गरिएको छ । धर्मसभाले देशमा कुनै पनि प्रकारको विघ्न नहोस् राष्ट्र शान्ति कायम होस् भन्ने कामनाले गणेश रथयात्रा शुरु गरेको जनाएको छ ।
Categorized in राष्ट्रिय