STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अञ्चल अस्पतालमा औषधि अभाव

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । 
 
औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।
 
अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, शहीद परिवारलगायतलाई निःशुल्क औषधि दिँदै आइरहेको थियो । चार दिनअघि अस्पतालले सूचना जारी गर्दै बजेट अभावका कारण औषधि र आंशिक छुट दिन नसक्ने बताएको छ ।
 
महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले औषधिका लागि सङ्घीय सरकारबाट चालू आर्थिक वर्षमा रु तीन लाखमात्रै आएको जानकारी दिनुभयो । “माथिबाट आएको तीन लाखको औषधि सकिएपछि यहाँ समस्या भयो ।” सूचना अधिकृत अवस्थीले भन्नुभयो, “औषधि उपलब्ध गराउनका लागि सुदूरपश्चिम प्रदेश सरकारमा पहल गरिरहेका छौँ ।”
“औषधि बिक्रेताले उधारो धेरै भएपछि औषधि दिन नसक्ने भनेपछि सूचना जारी गरेर सेवा मात्रै दिने भनेका हौँ ।” अवस्थीले भन्नुभयो, “औषधि आएपछि पुनः वितरण शुरु हुन्छ ।” औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० जना लक्षित वर्गका बिरामी मारमा परिरहेका छन् । एकाइमा चार जना कर्मचारी कार्यरत रहे पनि दरबन्दी भने दुई जनाको मात्रै हो ।
 
अहिले दुई जनाको तलब चार जनाले बाडेर खाइरहेका छन् ।दातृ निकायमार्फत् सामाजिक एकाइ कर्मचारी व्यवस्थापन हुने गरेको छ ।
Categorized in राष्ट्रिय