STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अत्याधुनिक बसपार्क तयार

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २४, मंगलबार

नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा दश दिनभित्र हामीले सञ्चालनमा ल्याउने छौँ”, नगरप्रमुख राणाले भन्नुभयो, “सबै बसलाई बसपार्कभित्रै पार्किङ गर्नुपर्ने बाध्यात्मक व्यवस्था मिलाउँदैछौँ ।” बसपार्कमा पार्किङ नगरी सडकका छेउछाउ बस रोक्दा दुर्घटनाको जोखिम हुनुका साथै अशोभनीय देखिएकाले सबै बसलाई बसपार्कभित्रै राख्ने अनिवार्य व्यवस्था कायम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गरेको हो । यातायातका साधनबाट असुली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । निर्माण कम्पनीले मुख्यद्धार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरका इञ्जिनीयर सुरजकुमार गुप्ताले बताउनुभयो । उहाँका अनुसार, बसपार्क निर्माणको जिम्मा युनाइटेड बिल्डर्सले रु २० करोड लागत अनुमान गरिएकामा रु १४ करोड ९४ हजारमा ठेक्का लिएको थियो । पटक–पटक म्याद थप गरी करिव एक वर्ष ढिलो गरी निर्माण कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेको छ । करीब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायीले पनि दबाब दिँदै आएका थिए । हरेक गाडीबाट दैनिक रु २० देखि रु १०० सम्म शुल्क उठाउँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ । भेरी बस व्यवसायी प्रालिका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बसपार्क सञ्चालन नहुँदा यातायात व्यवसायी र यात्रुले दुःख झेल्नुपरेकाले तुरुन्त सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, नेपालगञ्ज बसपार्कबाट काठमाडौँलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ६०० बढी साना ठूला बस सञ्चालन हुने गर्दछन् ।
Categorized in राष्ट्रिय