STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्यादेश खारेजपछि सरकार विस्तार गर्न यादवको आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २८, सोमबार

काठमाडौं - सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका छन्।

आइतबार सम्पन्न गठबन्धनको बैठकमा यादवले प्रधानमन्त्रीसमक्ष उक्त आग्रह गरेका हुन्। पार्टीभित्रका विविध आन्तरिक कुरा मिलाउनु पर्ने भएकाले पहिले अध्यादेश खारेज गरेरमात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेको उनले बताए।

अध्यादेश यथावत् रहेमा जसपा विभाजन हुने भयले उनले अध्यादेश खारेज गराउन जोड दिएका हुन्।

दल विभाजनका लागि जसपामा ५ जना सांसद् भए पुग्छ। तर पार्टी विभाजनका बेला यादवले धेरैलाई मन्त्रीको आश्वासन दिएर आफूतिर राखेका थिए। तर संयुक्त सरकार भएका कारण आकांक्षी सबैलाई मन्त्री बनाउने अवस्था छैन।

मन्त्री बन्न नपाउनेहरुले दल विभाजन गर्न नसकुन् भनेर यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

गत भदौ १ गते सिफारिस गरिएको राजनीतिक दल सम्बन्धी अध्यादेश भदौ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको थियो। जस अनुसार जसपा विभाजित भई गठन भएको लोसपाले भदौ ९ मा मान्यता भएको थियो।

Categorized in राजनीति