अनैतिक कार्य गर्ने बासिन्दालाई मात्र वडाबाट दिइने सम्बन्धित मुद्दामा सेवा सुविधा रोक्का : २ वडाध्यक्ष डंगोल
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १७, शुक्रबार
अब कीर्तिपुरमा गैरकानूनी र नीति नियम विपरीत कार्य गर्ने कालोसूचीमा
२०७८ बैशाख ७ गते कीर्तिपुर नगरपालिका २ वडा कार्यालयबाट वडाध्यक्ष रमेशमान डंगोलको हस्ताक्षरसहितको एक सूचना टाँस भएको थियो । उक्त सूचनामा लेखिएको छ, ‘उपरोक्त सम्बन्धमा यस कीर्तिपुर नगरपालिका वडा नं. २ भित्रका विभिन्न टोल तथा बस्तीहरुमा संचालन गरिने विकास निर्माण योजना संचालन तथा कार्यान्वयन गर्ने शीलशीलामा नेपाल सरकार तथा यस नगरपालिकाको नीति नियम विपरीत भए गरेको गैरकानूनी कार्यको नियन्त्रण तथा कार्यान्वयनको विषयलाई लिएर यस नगरपालिका तथा वडा कार्यालयलाई विपक्षी बनाई सो विषयमा अदालत मुद्दा दायर गरेकोमा सो मुद्दा किनारा नलागेसम्म वादी पक्षलाई यस वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा समेत रोक्का गरिने ब्यहोरा यस वडा कार्यसमितिको निर्णय अनुसार सर्व साधारणमा जानकारी गराइन्छ ।’
यो सूचनालाई लिएर सामाजिक संजालमा विभिन्न फेसबुक सामाजिक संजाल प्रयोगकर्ताहरुले २ वडा कार्यालय र वडाध्यक्ष रमेशमान डंगोलप्रति अनेक नानाथरीका असत्य र अर्थहीन नकारात्मक विरोधका विचारहरु एवं कुनै सोचनीय यथार्थ विचारहरु सम्प्रेषण भएको थियो । यो विषयमा कीर्तिपुर नगरपालिका २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिकाका संस्कृति पर्यटन सम्पदा विभाग संयोजक रमेशमान डंगोल भन्नुहुन्छ, “खासमा यस २ वडाबाट सार्वजनिक गरिएको सूचनामा ‘वादी पक्षलाई यस वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा समेत रोक्का गरिने’...यो लाईनले जनसमुदायमा भ्रम भएको देखिन्छ । वास्तवमा यो सम्पूर्ण २ वडाका सम्पूर्ण बासिन्दाहरुका लागि नभइकन २ वडाका केही मानिसहरुले आफ्नो व्यक्तिगत जग्गा सम्बन्धीको झगडामा आफू आफूबीचको मुद्दामा वडालाई समेत विना कारण मुछिएका कारण तथा केही व्यक्तिहरुले सार्वजनिक जग्गा हड्पेर गैरकानूनी एव नीति नियम तथा नगरपालिकको कानून विपरीत नीजि प्रयोजनमा प्रयोग गरेका कारण मात्र ती व्यक्तिहरुलाई उनीहरुको पर्टिकूलर विवादित जग्गा सम्बन्धी कुनै पनि कार्य नगरपालिका एवं वडाले रोक्का गरिने निर्णय गरेको हो भने तर तिनीहरुको नागरिकता, ज्येष्ठ नागरिकको हकहितको सवालमा ती व्यक्तिहरुलाई वडाबाट दिइने सुविधा रोक्का गरिने छैन । मात्र सार्वजनिक जग्गा मिचाहा, व्यक्तिगत मुद्दामा नगरपालिका वडालाई समेत मुद्दा दायर गर्ने व्यक्तिहरुलाई मात्र यो नियम लागू हुनेछ ।”
आफूहरु वडा एवं सम्पूर्ण कीर्तिपुर नगरको विकास निर्माण कार्यमा दिलोज्यानका साथ लागिपरेको कुरा राख्दै वडाध्यक्ष डंगोल भन्नु हुन्छ, “कीर्तिपुर नगरपालिकाले अब सार्वजनिक जग्गा लुटाहा प्रवृत्तिका मानिसहरु एवं अनावश्यक रुपमा व्यक्तिगत मुद्दालाई लिएर नगरपालिका र वडालाई समेत मुद्दा हाल्ने गैरकानूनी र नीति नियम विपरीत पाईला चाल्ने स्वार्थी त्यस्ता नकारात्मक सोंचका स्वार्थी व्यक्तिहरुलाई नगरपालिकाको ‘कालोसूची’मा राखिने नियम कार्यान्वयन हुँदैछ । नगरपालिका चाहन्छ कि जनसमुदाय र नगरपालिका नङ र मासु समान होस्, नगर विकासका लागि सकारात्मक सोंचका साथ स्थानीयवासी र नगरपालिकाको संयुक्त पाईला होस् ।”
वडाध्यक्ष डंगोलले भावना र अर्थ नै नबुझी लगामे घोडा जस्तै भई सामाजिक संजालमा अर्थहीन विचारहरु पोष्ट नगर्न पनि अनुरोध गर्नुभएको छ ।


