अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेकोप्रति डा. महेशमान श्रेष्ठको चिन्ता
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ १०, शनिबार
नागरिक अगुवा डा. महेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेवाः मिसा ग्वाहालि पुचः र नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर वडा नं २६ ले गरेको क्षमता विकास प्रशिक्षण कार्यक्रममा उहाँले यसरी देशप्रतिको चिन्ता व्यक्त गर्नुभएको हो । राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका कर्मचारीले भ्रष्टाचारमार्फत कुशासन गरेर देश बिगारेको डा. श्रेष्ठको आरोप छ । कार्यक्रममा उहाँले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका दलले गलत प्रवृत्तिका नेता कार्यकर्तालाई संरक्षण दिएकोप्रति आक्रोस पोख्नुभयो ।
सामाखुसीस्थित प्रज्ञा स्कूलको हलमा सुरु भएको पाक्षिक प्रशिक्षण कार्यक्रममा उद्घोषण, औपचारिक कार्यक्रममा सिलसिला मिलाएर बोल्ने शैली, संस्था सञ्चालनको तरिका सम्बन्धिको तालिम दिइनेछ । ग्वहालि पुचःले यसअघि कीर्तिपुर, तारकेश्वर नगरपालिकाको मनमैजु, फुटुङ, धर्मस्थली, भक्तपुरको थिमि, टोखा, काठमाडौंका विभिन्न टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, गृहिणी लगायत सहभागी थिए ।
Categorized in साहित्य-कला

