STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अफगानिस्तानका घाज्नीमा बम हमला, सात जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार

एजेन्सी – अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७.४५ बजे बिस्फोट गराएका थिए । प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रान्तीय सरकारका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले पनि घटनाको पुष्टि गर्दै आक्रमणकारीहरु प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेका तर प्रहरीको प्रतिकारले उनीहरुको त्यो प्रयास सफल हुन नपाएको बताउनुभयो । उक्त आक्रमणको घटना ४०० जना विवादास्पद तालिबान बन्दीका विषयमा निर्णय गर्न लोया जिर्गा अर्थात समाजका ज्येष्ठ एवं प्रबुद्ध वर्गको बैठक बसिरहेका समयमा भएको छ । लोया जिर्गा बैठकमा अफगानिस्तानका विभिन्न भागबाट आएका तीन हजारभन्दा बढी सदस्यको सहभागिता छ । घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार १०० लडाकूलाई जेलमुक्त गरिसकेको छ । तर तालिबानले जेलमा अझै बन्दी अवस्थामा रहेका ४०० लडाकूलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएको छ । सरकारको भनाईमा यी लडाकू ट्रक बम आक्रमण, अपहरण र नागरिक हत्याका आरोपी हुन् । सरकार र विद्रोही तालिबानबीच लडाकूको रिहाईसँगै अन्तर–अफगान संवाद हुने र वर्षौंदेखिको गृहयुद्ध समाप्त हुने अपेक्षा गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय