अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न समिति गठन
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३१, आइतबार
सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ ।
सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सचिव पौड्यालले घिमिरेको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति गठन गरिएको र समितिले आइतबारबाटै काम सुरु गरेको जानकारी दिए ।
अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौैडेलले बताए । नेपालीहरू अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले बताए । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरू स्वयम् संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए ।
सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगसँग सम्पर्कमा रहेको उनले बताए । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने, जहाँबाट भए पनि आफ्नो अवस्थाबारे जानकारी गराउन अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक-एक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने पनि सचिव पौड्यालले बताए ।


