STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अबको आवश्यकता आर्थिक क्रान्ति– मुख्यमन्त्री गुरुङ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अबको आवश्यकता आर्थिक क्रान्ति भएको बताउनुभएको छ । गण्डकी प्रदेश मूल समितिद्वारा आज पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा उहाँले राजनीतिक क्रान्ति सम्पन्न भएकाले नेपाली जनताको समृद्धि र विकासको चाहना पूरा गर्न अब आर्थिक क्रान्तिको विकल्प नभएको बताउनुभयो ।
 
नेपाली जनताको लामो समयदेखिको सङ्र्घषको उपलब्धिस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको चर्चा गर्दै उहाँले संविधानको सफल कार्यान्वयनका लागि सबै पक्षको एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभयो ।
सङ्घीय राज्य प्रणालीको भावना र मर्मअनुरुप हाम्रो संस्कार, संस्कृति र कार्यशैलीमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले चरम भ्रष्टाचार, अनियमितता अन्त्यका लागि आजको दिनमा सामूहिक प्रतिबद्धता आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल बनाउन एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो कार्यक्रममा प्रदेशअन्तर्गतका विभिन्न कार्यालयका उत्कृष्ट कार्य गरेबापत २५ जना राष्ट्रसेवक कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यसअघि मुख्यमन्त्री गुरुङले पोखराको शहीदचोकस्थित शहीद पार्कमा पुगी अमर शहीद स्मारकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
सो अवसरमा मूल समारोह समितिद्वारा सिर्जनाचोकबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीलगायत सर्वसाधारणको सहभागिता रहेको थियो । 
Categorized in राष्ट्रिय