अबको कीर्तिपुरको नेतृत्वमा युवाहरु आउनु पर्दछ : युवा समाजसेवी राजकमल महर्जन
Janjati Khabar – LALENDRA SHAKYA | २०८१ भाद्र १९, बुधबार
कीर्तिपुर/देशैभर जनप्रतिनिधि रिक्त रहेका पद परिपूर्तिका लागि स्थानीय तहको उप–निर्वाचन आउँदो मंसीर महिनामा गर्ने उद्घोष निर्वाचन आयोगले गरिसकेको छ । यही क्रममा कीर्तिपुर नगरपालिकामा पनि उप–निर्वाचन हुने भएको छ । कीर्तिपुर नगरपालिकामा हालै मात्र नगर प्रमुख राजकुमार नकर्मीको अकल्पनीय देहावसान भयो भने १ वडाका वडाध्यक्ष, ४ वडाका वडाध्यक्षको पनि अकल्पनीय रुपमा मृत्युपछि ती पदहरुका लागि उप–निर्वाचन हुने भएको छ ।
स्थानीय तहको उप–निर्वाचनको संघारमा कीर्तिपुर नगरपालिका २ वडा देवढोका निवासी युवा समाजसेवी राजकमल महर्जन ‘सुनिल’ले ‘अबको कीर्तिपुरको नेतृत्वमा युवाहरु आउनु पर्दछ’ भन्ने विचार राख्दै उप–निर्वाचनमा आफू पनि नगर प्रमुखको उम्मेदवार हुने सोँचका साथ कीर्तिपुर नगरलाई सकारात्मक रुपमा परिवर्तनका साथ विकासको पाटोमा लाने योजनासंगै सक्रियता जनाउँदै आउनु भएको छ । युवा समाजसेवी राजकमल महर्जन ‘सुनिल’ नेकपा एमालेसंग आबद्ध हुनुहुन्छ । महर्जनलाई नेकपा एमालेले नगर प्रमुख उम्मेदवारको टिकट दिए वा नदिएता पनि उहाँको ‘नेतृत्वमा युवाहरु आउनु पर्दछ’ भन्ने विचारमा समग्र कीर्तिपुरबासीको समर्थन हुनु जरुरी देखिन्छ ।
उप–निर्वाचनमा उम्मेदवार हुने चाहे जुनसुकै पार्टीबाट होस्, सक्षम युवाहरु नै मैदानमा आएको खण्डमा अबको कीर्तिपुरको मुहार सकारात्मक रुपमा फेरिनेमा दुईमत रहन्नँ ।
यही सन्दर्भका कीर्तिपुरका जुझारु संचारकर्मी वीरेन्द्र शाक्य विविशा सामाजिक संजाल फेसबुकमा ‘राजनीति र स्थानीय नेतृत्वमा युवाहरूको आकर्षण बढ्दो’ शीर्षक दिई लेख्नु हुन्छ –
नयाँ पुस्ताका युवाहरू दैनिक हजारौंको संख्यामा विदेश पलायन भैरहेको तथ्यका बीच कीर्तिपुरमा भने युवाहरूको आकर्षण राजनीति र स्थानीय नेतृत्वमा बढ्दै गएको देखिन्छ । हुनतः २०७९ सालको चुनाव यता मात्र कीर्तिपुरबाट पनि हजारौंको संख्यामा युवाहरू विदेशिएका छन् । वडा कार्यालयहरूमा दैनिक धेरै संख्यामा वैदेशिक प्रयोजनका लागि सिफारिस लिन आउने गरेका छन् । तर जब निर्वाचन आयोगले स्थानीय तहमा रिक्त स्थानको पूर्तिका लागि उप–निर्वाचनको तयारी भैरहेको विषय संचारमाध्यममा आयो तब एकाएक कीर्तिपुरको राजनीतिक वृत्त गर्माउन थालेको छ । राजनीति र स्थानीय नेतृत्वमा युवाको आकर्षणलाई सकारात्मक र स्वभाविक रूपमै लिनु पर्दछ । देशमा राजनीतिक परिवर्तन भएको साढे ३ दशकसम्म पनि त्यहि नेतृत्व र अनुहारहरू देखा परिरहेका छन् । यसो हुनुको मुख्य कारण २०५९ देखि २०७४ सालसम्म स्थानीय निर्वाचन नहुनु पनि मुख्य कारण बन्यो । ५ वर्षे आवधिक चुनावको तीन कार्यकालमा नेतृत्व थान्को लाग्दा अहिले आकांक्षीहरू बढ्नु स्वभाविक हो । हाल कीर्तिपुर बजारमा चर्चाको पात्र राजकमल पनि बनेका छन् भने उनको सक्रियता पनि बढेको देखिन्छ । राजकमल महर्जन भन्छन्, ‘अबको कीर्तिपुरको नेतृत्वमा युवाहरू आउनु पर्दछ ।’ यद्यपि आयोगले निर्वाचनको तिथिमिति टुंगो लगाएको छैन । दलहरू पनि आन्तरिक छलफलमा घनिभूत रूपमा लागेका छन् ।
कीर्तिपुर नपाको नगर प्रमुख उम्मेदवारका लागि नेकपा एमालेबाट पूर्व मेयर उम्मेदवार केशरत्न बज्राचार्य, लक्ष्मीकुमार महर्जन, पूर्व मेयर रमेश महर्जनका स्वकीय सचिव विकास महर्जन, २ वडाका पूर्व वडाध्यक्ष रमेशमान डंगोल, १ वडाका पूर्व वडाध्यक्ष हर्ष महर्जन लगायत अन्य व्यक्तित्वहरु आकांक्षीको रुपमा चर्चा परिचर्चामा आएका छन् । आकांक्षीहरु हुनु स्वाभाविक नै हो, तर एमाले नेतृत्व कीर्तिपुरले सक्षम उम्मेदवार चयन गर्नु पर्दछ ।
Categorized in राजनीति

