STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब एकता प्रक्रिया लम्बाउनु हुँदैन ः नेता भुसाल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताउनुभएको छ । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै उहाँले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख गर्नुभयो । 
कम्युनिष्ट आन्दोलनका योद्धा तथा गायक प्रचण्डबहादुर बुढाथोकीको छैठौँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पश्चिम नवलपरासीले बर्दघाट–२ चिसापानीमा शुक्रबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले  भन्नुभयो,“अब एकता प्रक्रिया लम्बाउनु हुँदैन, हाम्रो पार्टी यति बलियो र सुसंस्कृत रहेछ, करीब एक वर्षसम्म पार्टीका सबै कमिटी लथालिङ्ग र जिम्मेवारी विहीन हुँदा पनि दायाँबायाँ भएका छैनन्, यो हाम्रो ठूलो उपलब्धि हो । तर अब यो अवस्था लामो समय रहन दिनुहुन्न् ।
एकता साँघुरिँदै गएको भन्दै नेता भुसालले अहिले अफ्ठ्यारो परिस्थितिमा नआत्तिन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले ढिलो भए पनि आफूहरुले एकता पूरा गरेरै छाड्ने बताउनुभयो । कार्यकर्ताबाट छिटो एकता टुङ्ग्याउनुपर्ने दबाब रहेको भन्दै नेता भुसालले तयारीको हिसाबले वैशाख नौ गतेभित्रै मूर्तरुप पाउनेमा भन्ने आफू विश्वश्त नरहेको प्रतिक्रिया दिनुभयो । 
सांसदसमेत रहनुभएका नेता भुसालले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहप्रति पार्टीको आधिकारिक धारण तय भइनसकेको भन्दै उहाँले विप्लवको नीति अनुसारको व्यवहार भने नरहेको बताउनुभयो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रचण्डबहादुर बुढाथोकी जस्तै योद्धाको योगदानलाई स्मरण गरेर सरकार सञ्चालकले काम गर्ने हो भने मुलुकले सही दिशा लिने भन्दै आफूले पनि सोही अनुसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वमन्त्री शान्ता मानवीले स्व सर्जक बुढाथोकीसँग आफू सानै उमेरदेखि सामिप्यमा रहेर काम गरेको स्मरण गर्दै उहाँले देखाएका सकरात्मक सन्देशको अनुकरण गर्नुुपर्नेमा जोड दिनुभयो । 
सांसद तिलक महत, केन्द्रीय सदस्य डा विजय पौडेल, जनसांस्कृतिक महासङ्घका संस्थापक केन्द्रीय सदस्य देवेन्द्र घिमिरे, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल लगायतले स्वर्गीय बुढाथोकीको निधनले सिङ्गो पार्टीमात्र नभई नेपाली गीतसङ्गीत र साहित्य क्षेत्रमासमेत अपूरणीय क्षति पुगेको बताउनुभएको थियो । वरिष्ठ सर्जक तथा गायक प्रचण्ड बुढाथोकीको यही वैशाख एक गते ८३ वर्षको उमेरमा निधन भएको थियो । 
           
Categorized in राजनीति