अब हुलाकबाटै प्रेसपास लिन सकिने
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २५, बिहिबार
काठमाडौं - अब पत्रकारले हुलाक कार्यालयबाटै प्रेस प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्र लिन काठमाडौंमा आइपुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गरेको छ ।
पत्रकारले अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । हुलाक कार्यालयले आवश्यक कागजपत्र रुजु गरेर केन्द्रमा पठाउनेछ । त्यसपछि पत्रकारले त्यहीबाट प्रेस प्रतिनिधि प्रमाणपत्र पाउनेछन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यसलाई महत्वपूर्ण निर्णय भएको बताए। सूचना विभागमा पत्रकारको लाइन हुने समस्याको अन्त्य हुने उनको विश्वास छ । मन्त्रालयले मन्त्रीस्तरीय रुपमा यो निर्णय गरेको गुरुङले बताए ।
७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।
तत्कालका लागि सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था मिलाइएको भए जस्तै छिट्टै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने व्यवस्था मिलाइँदैछ ।
प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्दै आएको छ । प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौं बिताउर्नुे अवस्थाको यो व्यवस्थाले अन्त्य गर्नेछ । यसबाट विभागको कार्यबोझ घट्ने निश्चित छ भने निष्क्रिय प्रायः रहेका हुलाक कार्यालयहरुले जिम्मेवारी पाएका छन् ।
Categorized in राष्ट्रिय

