अभिनेत्री आचार्य र उप्रेतीलाई निशा घिमिरे स्मृति पुरस्कार प्रदान
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २१, मंगलबार
केही वर्ष अगाडि भारतको देहरादूनमा सडक दुर्घटनामा पर्नु भएकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार भएको थियो । ५/६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा घिमिरे उपचाररत अवस्थामा नै देश विदेशमा रहनु भएका शुभेच्छुक सहृदयी दाताहरुले निशाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाउनु भएको र गत वर्ष स्व. निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो ।निशा घिमिरे स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे हुनुहुन्छ ।
सोही निशा घिमिरे स्मृति कोषको २०७९ श्रावण १४ गते बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई (जनही २५ हजार रकम र सम्मानपत्र) प्रदान गर्ने निर्णय गरेको थियो भने सो पुरस्कार सोमबार एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।
कोषका संयोजक दुर्गानाथ दाहालको सभाअध्यक्षतामा होटेल हार्दिक मा सम्पन्न सो कार्यक्रममा नर्भिक अस्पतालका मेघा चौधरी, संचारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गरिएको थियो । सो कार्यक्रममा विशिष्ट अभिनेत्री द्वय भुवन चन्द र मिथिला शर्मा , चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
शुभेच्छुक दाता र रजतपटका संचालक संचारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवंगत हुनु भएपछि अक्षय कोषमा राखि प्रत्येक वर्ष एक जना मोडल र एकजना अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भए बमोजिम यस वर्षको पुरस्कारअभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरिएको कुरा निशा घिमिरे स्मृति कोषका सदस्य सचिव मोहन निरौलाले स्वागत मन्तव्य राख्ने क्रममा जानकारी दिनु भयाे ।
Categorized in साहित्य-कला

