अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे दबाब
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २१, मंगलबार
काठमाडौं - सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन प्रधानमन्त्री देउवालाई चर्काे दबाब दिएका हुन् ।
व्यापक रूपमा आलाेचना हुँदा पनि अर्थमन्त्री शर्मालाई हटाउन तत्पर नदेखिएपछि देउवा माथिसमेत नेताहरूले प्रश्न उठाउन थालेका छन् ।
'अर्थमन्त्रीको अयोग्यता छताछुल्ल छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ । गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो', कांग्रेस नेता गुरु घिमिरेले भनेका छन् 'अहिले आएर सीसीटीभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्शाउँछ । के नेपालमा अर्थमन्त्री हुने अरु मान्छे छैनन् ? प्रधानमन्त्रीले मन्त्री फेर्नु पर्दैन ?´
बजेटको अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्माले मन्त्रालयमा छिराएकाे आराेप छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैँ प्रमाण मेटाउनतिर लागेको आराेप पनि कांग्रेस नेताहरूकाे छ ।
कांग्रेस महामन्त्री थापाले सीसीटीभी फुटेज ‘डिलिट’ गरिएपछि अर्थमन्त्री शर्मामाथि शंका उठेको र बजेटमा करका दर चलाउने विषयलाई सामान्य त्रुटि मान्न नमिल्ने बताए । ‘यत्रो विषय संसद्मा उठ्यो, बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि कि अर्थमन्त्रीले अहिले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले उहाँलाई अहिल्यै हटाउनुपर्छ । अर्थमन्त्रीमाथि तत्काल छानबिन गर्नुपर्छ,’ थापाले भनेका छन् ।
Categorized in राजनीति

