STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्थमन्त्रीले राजिनामा दिनुपर्छ : गगन थापा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २०, सोमबार

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजिनामा दिनुपर्ने उनले बताए ।

‘हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राख्नेकुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन,’ थापाले भने, ‘यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्‍यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । र जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ । वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ ।’

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । अर्थमन्त्री शर्मालाई राजिनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि उनले बताए ।

‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र, तत्काल छानबिन गर्नुपर्छ,’ थापाले भने ।

Categorized in राजनीति