STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अलपत्र अवस्थामा वृद्ध जिटी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार

खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो । उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र स्याहारसुसारको आवश्यकता पर्ने बेलामा उहाँलाई आफन्तकै सम्झनाले टोलाइरहने बनाएको छ । श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि जिटी एक्लो जीवन बिताउँदै आउनुभएको छ । दैनिक गर्नुपर्ने कामको जिम्मा पनि बुढ्यौलीले छोपेका जिटीकै जिम्मामा परेको छ । रासससँग कुरा गर्दै उहाँले आफ््नो विगत सम्झँदै भन्नुभयो, “जीवनमा धेरै दुःख गरियो, बुढेसकालमा झन् दुःख थपिँदै गएको छ ।” दुई सन्तान जन्मिए पनि छोराको सानैमा सर्पको टोकाइबाट मृत्यु भएको र विवाह गरेर गएकी छोरीको पनि मृत्यु भएपछि आफ्नो भन्ने कोही नभएको उहाँले बताउनुभयो । नगरपालिकाले घरको छाना टिनले छाइदिएको र त्यही छाउने क्रममा जम्मा भएको फोहर सफा गर्ने क्रममा उहाँको खुट्टा काटियो । समयमै उपचार नगरी बस्दा समस्या बढ्दै गएपछि पाल्पामा उपचार गराउँदा लागेको ऋण तिर्न रु ५० हजारमा बारी बेचेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको ऋण तिर्न भएको बारी बेचँे, अब जग्गाको नाममा यही घर भएको बारी मात्रै छ, कसैको सहयोग पाए केही सहयोग हुने थियो, केही काम गर्न सक्ने अवस्था छैन, शरीर लौरीको भरमा हिँडाउनुपर्छ, यस्तै छ जिन्दगी, आफन्त नभएपछि के गर्नू ” घरमा एक्लै भएपछि अहिले उहाँको दैनिकी पिँढीमा बसेर आफन्तको सम्झनामा टोलाएरै बित्ने गरेको छ ।
Categorized in राष्ट्रिय