STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अवैध भरुवा बन्दुक नियन्त्रणमा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । 
“गत चैत १ गतेदेखि २०७६ वैशाख ६ गतेसम्म सूचना जारी गरेका थियौँ”, प्रवक्ता भण्डारीले भन्नुभयो, “उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक नियन्त्रणमा आएको छ ।” 
स्याङ्जाको बिरुवा गाउँपालिकाबाट अवैध भरुवा बन्दुक प्रयोगकर्ता दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिरुवा गाउँपालिका–३ का थमनसिंह थापामगर र सोही ठाउँका थामबहादुर थापालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् अदालतमार्फत् दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो । 
बिरुवा गाउँपालिकाका–३ स्थित सिउँदी कुथर भन्ने स्थानतर्फ जाँदै गर्दा थमनसिंहले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई निजकै कोखामा लागेर घाइते भएका थिए । 
तमु समाजले बनायो सामुदायिक भवन
स्याङ्जाको वालिङ नगरपालिका–३ बाङ्खेमा तमु समुदायले सामुदायिक भवन निर्माण गरिएको छ । गाउँ घरमा सामुदायिक भवनको अभावमा सामाजिक कार्य, विभिन्न बैठक तथा तालीम सञ्चालन गर्न र समाजले जुटाएको भाँडावर्तन राख्नका लागि समस्या देखिएपछि बाङ्खेली तमु समुदायले भवन निर्माणमा सक्रियता देखाएको निर्माण समितिका अध्यक्ष खिमबहादुर गुरुङले बताउनुभयो ।
स्थानीय कुलबहादुर गुरुङ र शिरमाया गुरुङले करीब पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएपछि सोही ठाउँमा भवन निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । “गाउँमा सामाजिक कार्य सञ्चालनका लागि भवनको अभाव देखियो”, जग्गादाता गुरुङले भन्नुभयो, “भवन निर्माणको योजना अगाडि सारेपछि मैले समाजलाई निःशुल्करुपमा जग्गा उपलब्ध गराएको हुँ ।”
विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सङ्कलन भएको रु २१ लाख दुई हजार ८८६ र स्थानीय जनश्रमदानबाट रु तीन लाख ४० हजार गरी कूल २४ लाख ४२ हजार ८८६ को लागतमा सभाहलसहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । 
भवनको उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले गुरुङ समुदायले आफ्नै अग्रसरतामा सामुदायिक भवन निर्माण गरेर उदाहरण प्रस्तुत गरेको बताउनुभयो “सामुदायिक भवनलाई सीप सिक्ने केन्द्रका रुपमा विकास गर्ने गरी अगाडि बढ्नुहोस्”, नगर प्रमुख खाँणले भन्नुभयो, “तपाईहरु अब आर्थिक उपार्जनसँग जोडिनुपर्छ, यसका लागि प्रस्ताव आए नगरपालिकाले सहयोग गर्छ ।”
Categorized in अपराध-दुर्घटना