STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

असुरक्षित गर्भपतन बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ८, मंगलबार

सन्धिखर्कमा असुरक्षित गर्भपतन बढिरहेको छ । नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका छन् । सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीमा अनुगमन गर्दा नियमविपरीत कार्य सञ्चालन गरेको भेटिएको हो । नियमविपरीत मेडिकल र पोलिक्लिनिकले गर्भपतन सेवा दिने, बेच्न नहुने औषधि बिक्री गर्ने भेटिएको अर्घाखाँची अस्पतालका डा कपिल गौतमले बताउनुभयो । मेडिकलमा गएर गर्भपतनको औषधि खाने र रक्तश्राव भएपछि मात्र सफा गर्न अस्पताल आउने गरेको उहाँले बताउनुभयो । अर्घाखाँची अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि महिला निजी मेडिकलमा गएर गर्भपतन गराउन औषधि सेवन गर्ने गरेको पाइएको छ । साउन, भदौ र असोज गरी तीन महिनामा अर्घाखाँची अस्पतालमा गर्भपतन गराएका ५६ मध्ये ३६ जना मेडिकलको औषधि सेवन गरेर सफा नभएपछि मात्र जिल्ला अस्पताल गएका छन् । मेडिकलमा अवैधानिक तवरबाट औषधि खाने र रक्तश्राव नरोकिएर शरीरमा रगत सकिएपछि मात्र आउने गर्नेको सङ्ख्या अधिक रहेको डा गौतमले बताउनुभयो । त्यस्ता महिलाको ज्यानैसमेत जोखिममा हुने गरेको छ । “स्वास्थ्यको सेवा र प्रदान गरिने सेवाको मूल्यसूची राख्नुपर्ने भए पनि मूल्यसूची नराखिएको, अर्कैको नाममा रहेको मेडिकल सञ्चालन गरेको, लाइसेन्सधारी व्यक्ति नभएर अर्कैले औषधि बेच्ने गरेको, फार्मेसी पास गरेकाले मात्र औषधि बेच्नुपर्ने नियम भए पनि सबै स्वास्थ्यकर्मीले औषधि बेच्ने गरेको भेटिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पूर्ण पराजुलीले बताउनुभयो ।
Categorized in राष्ट्रिय