STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आँखाको क्यान्सर  सचेतना सप्ताह मनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३०, सोमबार

तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा ९आँखाको क्यान्सर० रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको छ । 
रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ । यो वंशानुगत पनि हुन सक्छ । यसको लक्षणमा आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति ९सेतो टीका० देखिनु, असामान्यरुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनाका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्नसक्ने चिकित्सकको भनाइ छ । यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्न सक्छ । आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिने प्रतिष्ठानले जनाएको छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ  तर उपचार गर्न  ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ । 
सप्ताह उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले यस रोगबारे  जनचेतना जगाउन हरेक अस्पतालको प्रसूति वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी गराउन सक्यौँ भने पनि ती महिलाले समयमै उपचारका लागि ल्याउन सक्ने धारणा व्यक्त गर्नुभयो । तिलगङ्गा आँखा प्रतिष्ठानले यस रोगको उपचार र जनचेतनाका लागि गरेको पहलको प्रशंसा गर्दै उहाँले पैसाका कारण उपचार गराउन नसकेका बिरामीका लागि पनि लागि के कस्तो सहयोग गर्न सकिन्छ यसमा सरकार हातेमालो गर्न तयार छ भन्नुभयो । 
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले गाउँ घरका धेरै बिरामी शुरुमा जचाँउन सामुदायिक आँखा केन्द्र जाने भएकाले यस रोगको चेतना जिल्लास्थित सामुदायिक आँखा केन्द्रले प्राथमिकताका साथ गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सबै सञ्चारमाध्यम प्रयोग गरी यस किसिमका बिरामीलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्न सकिनेमा जोड दिनुभयो । आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकारले प्रतिष्ठानमा यस रोगको उपचार कसरी भइरहेको छ र कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्नेसम्बन्धी जानकारी दिनुभएको थियो । उहाँका अनुसार वार्षिक ३५ देखि ४० को सङ्ख्यामा यस रोगका नयाँ बिरामी आउने गरेका छन् । पहिलेपहिले उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो भने अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरिकन पनि यस रोगको उपचार गर्ने गरिएको छ । सो अवसरमा क्यान्सरपीडितको उपचारार्थ ओपन आई ग्लोबलले ४० जनाका लागि नक्कली आँखा निःशुल्क उपलब्ध गराउन प्रतिष्ठानलाई रु चार लाख उपलब्ध गराएको थियो । 
नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० प्रतिशत छ भने  विकसित देशमा एक प्रतिशतभन्दा कम पाइन्छ । प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन डा बेन लिम्बूले शिक्षा र जनचेतनाको अभावले यस रोगका बिरामी ढिलो आउने, अर्थाभावका कारण उपचार नगरी फर्कने देखिएको र कतिको उपचार गर्दागर्दै पनि आँखा तथा ज्यान जोगाउन नसकिएको स्थितिबारे आफूहरुले सात प्रदेशको २७ अस्पतालमा अनुसन्धान गर्न थालेको जानकारी दिनुभयो । सप्ताहभरि नै जनचेतनाका लागि पर्चा, पम्प्लेट, स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमासमूह र बालबालिकामा यो रोगका लक्षणसम्बन्धी तस्बीर देखाउने, विद्यालय, अस्पताल, समुदायमा पोस्टर टाँस्ने, आमसञ्चारका विभिन्न माध्यमबाट जानकारी दिइने प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु कुँवर केसीले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय