STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज चैते दशैं

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २६, शनिबार

काठमाडौं - प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ।

वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ। बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।

चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमानढोका दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ। चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैतेदशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।

बडादशैंजस्तै चैते दशैंको पूजा उपासनाका मुख्य उद्देश्य यो लोकमा सुख‚ शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो। बडादशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ।

यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ। चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

Categorized in राष्ट्रिय