STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज मीननाथको रथारोहण

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार

विजयरत्न असंबरे ः


वर्षेनी बछलाथ्व प्रतिपदा (वैशाख शुक्लपक्ष प्रतिपदा)बाट विश्वकैै सबैभन्दा लामो जात्राको रुपमा लिइएको रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सुरु हुन्छ । तर यस वर्ष विश्वभरि फैलिएको कोरोना रोगको महामारी र यसको नियन्त्रणको लागि लगाइएको लकडाउनले अन्य जात्रा र पर्वसरह यस जात्रालाई असर पारेको कारण बल्ल यो जात्रा सुरु हुन लागेको छ । चार महिने लामो लकडाउनपछि साउन १० गते ललितपुरको पूल्चोकमा रातो मछिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । यसको चार दिनपछि परम्परागत रुपमा मीननाथलाई रथारोहण गराइन्छ । यही परम्पराअनुसार आज साँझ पाटनको टंगल बहालबाहिर निर्माण गरिएको रथमा मीननाथलाई रथारोहण गराइने मीननाथका पुजारी गुरुजु लालककाको रुपमा प्रख्यात मिमराज शाक्यले जनाएका छन् । मीननाथको रथ ३२ हातको हुने र रातो मछिन्द्रनाथको रथभन्दा अलि सानो हुने यस रथमा मछिन्द्रनाथको रथमा जस्तै चार भैरवको प्रतीकस्वरुप चारवटा पाङ्ग्रा, पाङग्राको बीचमा नागको प्रतीकको रुपमा काठको घःमा रहन्छ । रथको सबैभन्दा माथि बाय्म्वः राखेर रथ निर्माण भएपछि हरियो लःसि राखी ध्वजा, पताकाबाट सजाइन्छ । मीननाथलाई चुकबाःद्यः, जटाधारी पद्मपाणी लोकेश्वर र धर्मराज पनि भन्ने चलन छ । परम्पराअनुसार मछिन्द्रनाथलाई वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइन्छ भने चतुर्थीमा मीननाथलाई रथारोहण गराई पुल्चोकको रथमा विराजमान मछिन्द्रनाथलाई स्वागत गर्नजाने भनी रथ तानेर पुल्चोक पुर्याइने चलन छ । यसरी मीननाथकै रथ तानी बाटो हेर्न नगएसम्म रातो मछिन्द्रनाथको रथ तानिँदैन । रातो मछिन्द्रनाथको जति महत्व छ त्यति नै मीननाथको महत्व पनि रहेको यसले देखाउँछ । तर यस वर्ष मीननाथको रथारोहण भए पनि रथायात्राको टुंगो लागेको छैन । सरकारले जारी लकडाउनलाई खुकुलो पारे पनि कोरोना संक्रमणको जोखिम रहिरहेकोले रथयात्राको मिति तोकिएको छैन । भदौ १ गते पछि सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रमा राखिएको लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना भएकोले मीननाथको यात्रा पनि त्यसपछि सुचारु हुने सम्बन्धित सूत्र जनाउँछ ।
Categorized in उपत्यका