आज राति १२ बजेदेखि निर्वाचनकाे माैन अवधि
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १, बिहिबार
काठमाडाैं- निर्वाचन आयाेगले आज राति १२ बजेपछि निर्वाचनको प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेकाे छ। उम्मेदवारहरूलाई चुनावकाे प्रचारप्रसार गर्न कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्मकाे समयअवधि ताेकिएकाे थियाे ।आज राति १२ बजेपछि प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन ।
निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घन्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने भन्दै त्यसप्रति ध्यानाकर्षण गराएकाे छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्तालाई यसबारे पुनः सचेत गराएको हो ।प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउँन अब तीन दिन मात्रै बाँकी छ ।
आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घन्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए । उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको, तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदै छ । आयोगले आसन्न निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ ।
Categorized in राष्ट्रिय

