आज संविधान दिवस, राष्ट्रपति र उपराष्ट्रपतिकाे शुभकामना
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ३, शनिबार
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गर्नुभएको छ ।
संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले संविधान दिवसको अवसरमा गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवम् श्रद्धासमेत व्यक्त गर्नुभएको छ ।
संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य पूरा हुने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
“नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य हो”, उहाँले भन्नुभएको छ, “संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने विश्वास लिएको छु ।”
उपराष्ट्रपतिले संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकाङ्क्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनान्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको यस स्वर्णीम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । उपराष्ट्रपतिले आफ्ना अधिकार संस्थागत गरेको संविधानप्रति गौरव गर्न सबैमा अपिलसमेत गर्नुभएको छ ।
Categorized in राजनीति