STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आधुनिक बसपार्क निर्माण हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

टीकापुर बसपार्क व्यवस्थितबनाउन थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले टीकापुर बसपार्क व्यवस्थित बनाउन बजेट विनियोजन गरेपछि धमाधम निर्माण कार्य भइरहेको छ । टीकापुर बसपार्कमा एक तलाको टर्मिनल भवन काउण्टर निर्माण हुने भएको छ । “बसपार्कमा टिकट काउण्टर, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, क्यान्टिनको व्यवस्था हुनेछ ।” शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढी कैलालीका इञ्जिनीयर झम्कबहादुर थापाले भन्नुभयो, “पार्किङ क्षेत्रमा ५१ बस अट्नेछन्, आउने र जाने सवारी साधनका लागि छुट्टाछुट्टै पार्किङ बन्नेछ । पार्किङ क्षेत्रमा २७ लामो दूरीका बस, २४ छोटो दूरीका बस, ५२ वटा मोटरसाइकल, १५ वटा निजी कार, ३० वटा माइक्रोबस अट्ने क्षमता हुनेछ ।” इञ्जिनीयर थापाले बसपार्कभित्र फुटपाथ, चार वटा यात्रु प्रतिक्षालय, खानेपानीको व्यवस्था, आगलागी नियन्त्रणका लागि ट्याङ्की, अर्लाम सिस्टमसहितको व्यवस्था रहने बताउनुभयो । बसपार्क निर्माणका लागि गत वर्ष असारमा रु १३ करोड लागतमा टेण्डर आह्वान भएको थियो । आयोजनाको निर्माण अवधि दुई वर्ष रहेको छ । राजेन्द्र रोयल जेभी कम्पनीले रु आठ करोड २८ लाखमा टेण्डर स्वीकृत भएपछि समयमै सक्ने गरी काम भइरहेको सञ्चालक प्रकाशबहादुर सेठ्ठीले बताउनुभयो । आयोजनाको निर्माण कार्यमा स्थानीयलाई काममा लगाइएको सञ्चालक सेठ्ठीले बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले स्मार्टसिटीका रुपमा विकास भइरहेको टीकापुरमा स्मार्टसिटीका लागि आवश्यक पूर्वाधार बन्दै गएको बताउनुभयो । “स्मार्टसिटीका लागि आवश्यक पूर्वाधार बन्दै गएका छन् । यो टीकापुरका लागि खुशीको कुरा हो”, रावलले भन्नुभयो, “बसपार्कसँगै लम्की टीकापुर सडक चार लेन बनाउने विषयमा पनि नगरपालिकाले पहल गरिरहेको छ ।” स्थानीय शुभनाथ देवकोटाले बसपार्क व्यवस्थापनले टीकापुरको व्यापारिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित बसपार्क भएमा यातायातका साधनको समेत सुरक्षा हुन्छ । बाहिरी जिल्लाका सवारी साधन टीकापुर आएमा यहाँको व्यापार व्यवसायसमेत वृद्धि हुन सहयोग पुग्छ ।”
Categorized in राष्ट्रिय