आपतकालीन व्यवस्थापन तालीम प्रभावकारी
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार
आपत्कालीन अवस्थामा अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मीलाई परिचालन गर्न आपत्कालीन व्यवस्थापन तालीम प्रभावकारी देखिएको छ । विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आपतकालीन अवस्थामा कसरी उद्धार तथा उपचार सेवा पु¥याउने भन्ने ध्येयले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरूपमा सञ्चालित तालीममा त्यस्तो प्रभावकारिता देखिएको हो ।
प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पताल, नेपालगञ्ज र सुर्खेत अस्पतालसहित ती दुई प्रदेशका जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तालीम प्रदान गरिएको थियो । प्राकृतिक प्रकोप तथा विपद्का अवस्थामा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई कसरी परिचालन गर्ने तथा घाइतेको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालीम प्रदान गरिएको आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।
तालीमको समीक्षा र मूल्याङ्कन गर्न आयोजित कार्यक्रममा मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन शाखाका प्रमुख चूडामणि भण्डारीले अस्पतालका चिकित्सक तथा स्वाथ्यकर्मीकलाई दिइएको तालीम र अभ्यासले आइपर्ने विपद्लाई व्यवस्थापन गर्न प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालयले आपत्कालीन अवस्थामा अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मीलाई परिचालनसम्बन्धी निर्देशिका तयार गरी कार्यान्वयन गरिराखेको छ । विस २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि घाइतेको उपचारमा मन्त्रालयले गरेको कामलाई विश्व स्वास्थ्य सङ्गठनले सराहना समेत गरेको थियो ।
घाइतेको उद्धार, एकैपटक अस्पताल तथा स्वास्थ्य संस्थामा आउने घाइतेको व्यवस्थापन, मृतक पहिचान तथा व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक, ड्रिल ९अभ्यास०, सिमुलेसन ९प्रदर्शन० समेत प्रदान गरिएको थियो । उपकुलपति वाग्लेले विपद् व्यवस्थाका लागि अगामी दिनमा थप तालीमको आवश्यकता रहेको चर्चा गर्दै प्रतिष्ठानले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्यस्थिति माथि उठाउन विभिन्न काम गरिएको जानकारी दिनुभयो ।
पछिल्लो सयम प्रतिष्ठानले चिकित्सा शिक्षाको एमडिजीपी तथा एमबिबिएस तहको पठनपाठनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरण जुम्लामा तयार गरिसकेको छ । ती कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुमति प्रदान गरिसकेका छन् । तर नेपाल मेडिकल काउन्सिलले पटक÷पटक स्थलगत अध्ययन गर्दा पनि अनुमति प्रदान गरेको छैन ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका कार्यरत चिकित्सकलाई सुर्खेत अस्पतालमा सेवा गर्न पठाएको उदाहरण दिँदै समग्र कर्णालीवासीको स्वास्थ्यस्थिति माथि उठाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा कृष्णकुमार राईले विपद् पछिको अवस्थालाई समान गर्नसक्ने गरी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता विस्तार गर्न मन्त्रालयले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अगामी दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले नीतिगत तथा आर्थिक सहयोग थप गर्नेछ ।”
मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहले विपद् जोखिम व्यवस्थापन गर्न प्रतिष्ठानलाई नमूना बनाइने बताउनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि चिकित्सक पार्कले विपद् पूर्व तयारीले क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अगामी दिनमा अस्पताललाई विपद्पछिको व्यवस्थापन गर्न सहयोग गरिने जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय


