आममाफी बदर गर्ने फैसलाले थप साहस दिएको छ : भारती मानन्धर
Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १७, शुक्रबार
काठमाडौं- भारती शेर्पा मानन्धले श्रीमान् चेतन मानन्धरको हत्यारा रिगल डनको आममाफी बदर गर्ने सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको भन्दै खुसी व्यक्त गरेकी छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको बताउँदै अदालतप्रति आम नागरिकको भरोसा बढेको बताइन् ।
भनिन्, ‘फैसला सुनाउँदा अब न्यायाधीशहरू पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्योदेखि म गलत भए । त्यो फैसलापछि म यति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धर्धरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो । फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकी सके पनि न्यायलय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ ।’
न्यायाधीशहरू पनि राजनीतिक दबाबमा आएर दोषीको पक्षमा फैसला सुनाउने हो की भन्ने सोचेर डराउँदै फैसला सुनेको उनको भनाई छ ।
उनले भनिन्, ‘न्यायाधीश पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरूले पनि मलाई के न्याय दिनुहुन्छ होला र ? दबाबमा आएर उहाँहरूले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ । मैले आँखा बन्द गरेर दुई जना साथीहरूको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जित हुन्छ कि हत्याराहरूको जित हुन्छ भन्ने सोचमा म थिएँ ।’
उनले अन्यायमा परेका आम पीडितहरूलाई न्यायका लागि लड्न समेत आह्वान गरिन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् । उक्त निवेदन पश्चात नवौँ संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल डन भन्ने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको हो ।
Categorized in राष्ट्रिय

