STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आम्दानीको स्रोत बन्दै महिलाका सहकारी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

महिलाले नेतृत्व गरेका सहकारी संस्था पछिल्लो समय आम्दानीको स्रोत बन्दै गएका छन् । सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय रोजगारसमेत हुन थालेका छन् ।  महिलाका सहकारी पछिल्लो समय नाफामुखीसमेत बन्दै गएका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएका छन् । 
विसं २०६९ मङ्सिर १० गते २९ महिलाले रु १०० को शेयर सङ्कलन गरेर साविकको डौड गाविस ९हाल सायल गाउँपालिका० मा लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गर्नुभयो । हाल उक्त सरकारी संस्थामा गाउँपालिकाका मात्रै ६०० महिला आबद्ध छन् । महिला मात्रै आबद्ध रहेको उक्त सहकारी संस्थाले रु ८० लाख  पूँजी निर्माण गरेको सहकारी संस्थाका अध्यक्ष सिर्जना डुम्रेलले बताउनुभयो । “हामीले सहकारी शुरु गर्दा खासै कसैले पत्याएनन्, पुरुष दाजुभाइले नेतृत्व गरेका सहकारी अहिले कोही झोलामा छन्”, उहाँले भन्नुभयो, “हामी त नाफामुखी हुँदैछौँ, महिलाले अवसर पाएमा राम्रो काम गर्छन् भन्ने देखाउन सफल भयौँ ।”
 दिपायल सिलगढी नगरपालिका–८ लडागडामा पनि महिला मात्रै आबद्ध रहेको लक्ष्मी महिला बहुउद्देश्यीय सरकारी संस्थामा ६३७ महिला शेयर सदस्य आबद्ध छन् । उक्त सहकारी संस्थाले छोटो समयमा नै आफ्ना दुई सुविधासम्पन्न भवन निर्माण गरेको अध्यक्ष टङ्का कडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “छोटो समयमा नै हामी आफ्नै भवन बनाउन सफल भएका छौँ, सहकारीबाट नै हाम्रा गाउँका महिलाको आयआर्जनमा समेत वृद्धि भएको छ ।” 
जोरायल गाउँपालिकामा रहेको नमूना सहकारी संस्था पनि महिलाले नै शुरु गरेका हुन् । उक्त सहकारीको कूल पूँजी रु एक करोड पुगेको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी खुलेपछि यहाँका महिलाले सानोतिनो कामका लागि अरुलाई हात थाप्नुपरेको छैन, बचत गर्ने बानीको विकास भएको छ ।” जिल्लामा महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको  गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । 
उहाँले भन्नुभयो, “महिलाले सहकारी खोलेपछि धेरै महिलाको क्षमताको विकास हुनुका साथै आत्मनिर्भरसमेत भएका छन्, यो राम्रो पक्ष हो ।” ‘सबैका लागि प्रत्येकका लागि सहकारी’ भन्ने मूल मन्त्रका साथ जिल्लाभरिमा सहकारी संस्था स्थापना भएका कारण यहाँका विपन्न नागरिकको साथी सहकारी भएको सामुदायिक विकास मञ्च नेपाल डोटीका सहकारी विकास अधिकृत कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीको मान्यता भनेकै आर्थिक अवस्था समान भएका व्यक्तिले पूँजी केन्द्रित गरेर सामूहिक ताकतमार्फत काम गर्ने हो ।” नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता भएको पाइएको छ । 
सहकारी डिभिजन कार्यालयको विघटनसँगै सहकारीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । सहकारीसम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन नसकेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा कर्मचारीको अभाव छ, त्यसमाथि सहकारीसम्बन्धी विज्ञ कर्मचारी नहुँदा व्यवस्थित बनाउन र  अनुगमन गर्न गाह्रो भएको छ ।” 
Categorized in राष्ट्रिय