आय विवरण बुझाउने म्याद पुस मसान्तसम्म थपियो
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २६, बुधबार
काठमाडौं- आन्तरिक राजस्व विभागले आय विवरण बुझाउन सक्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्याएको छ। यसअघि विभागले आय विवरण बुझाउने मिति थप नगर्ने गरी सूचना जारी गरेको थियो। सो निर्णयको विरुद्धमा परेको रिटमा पाटन उच्च अदालतले सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको थियो।
विभागले भने विभिन्न व्यावसायिक/व्यापारिक छाता संगठन र करदाताबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन भन्दै अनुरोध आएको भन्दै सो अवधिसम्म म्याद थप गरिएको जनाएको छ। आयकर ऐन २०५८ मा हरेक व्यक्तिले आय वर्ष सकिएको तीन महिनाभित्र सो वर्षको आय विवरण तोकेको स्थानमा दाखिला गर्नुपर्ने भनी तोकेको छ।
कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र म्याद थप गर्न निवेदन दिएमा एक पटक वा पटकपटक गरी बढीमा तीन महिनासम्म म्याद थप हुन सक्ने प्रावधान समेत रहेको छ। यसअघि विभागले वार्षिक १ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने सूचना निकालेको थियो।
वार्षिक २० करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताको सम्बन्धमा मंसिर मसान्त र २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताको हकमा २० पुससम्मको म्याद दिएको थियो। यसलाई सच्याउँदै विभागले सो म्याद अब पुस मसान्तसम्म पुर्याएको हो।
Categorized in बिजनेस

