आरन चलिरह्यो, जीवन चल्न मुस्किल
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार
तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित हुनुभएको छ । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित हुनुभएको हो ।
पुर्खादेखि गर्दै आएको आरन पेशाले परिवार पाल्न गाह्रो भएपछि पेशाबाट नै विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आउनुभएका विकले बजारमा आएको आधुनिक सामग्रीका कारण आफ्नो पेशा सङ्कटमा परेको जानकारी दिनुभयो ।
दलसिंले भन्नुभयो, “बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै सङ्कटमा पर्न थालेको छ । आजभोलि काम पनि पाउन छाडियो ।” बजारमा भित्रिएका आधुनिक सामानका कारणले आफूले बनाउँदै आएको हँसिया, खुर्पालगायत बिक्री हुन छाडेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “विगतमा यही पेशाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो । तर अहिले सामग्री नै बिक्री हुन छाडेपछि दोधारमा परेको छु ।”
फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयातीत सामग्रीको गुणस्तरमा धेरै नै फरक भए तापनि त्यसको महत्व नबुझेर मानिसहरुले आयातीत सामग्री प्रयोग गर्न थालेको उहाँले गुनासो गर्नुभयो । “सस्तो मूल्यमा बिक्री गर्ने उद्देश्यले बजारमा आएका सामग्री र आफूहरुले बनाएको सामग्रीको गुणस्तर धेरै फरक पर्छ । मानिसले त्यसको महत्व नबुझेर सस्तोमा सामग्री किन्न थालेका छन्”, उहाँले भन्नुभयो ।
विगतमा यही पेशाको माध्यमबाट परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेशाबाट बाँच्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । फलामलाई कोइलामा ताप दिएर आकारप्रकार दिएर बनाइने खुर्पालगायतका औजार बलियो भए तापनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा रहेको उहाँको भनाइ छ ।
यो पेशाबाट मासिक रु दुई हजार पनि कमाउन नसकिने भएपछि जीवनयापनका लागि अब के गर्ने भन्ने चिन्ता थपिएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा यही पेशाबाट राम्रो आम्दानी हुन्थ्यो, तर अहिले महीनाको दुई हजार पनि कमाई हुँदैन ।”
Categorized in राष्ट्रिय


