STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आलुको सत्यनाश

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

हरेक वर्ष जेठ महीनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका–३ दमेकका किसान यो वर्ष भने शीतलमा बसेर दिन काटेका छन् । हिउँदेखेती उठाउन बारीमै दिन बिताउनुपर्ने समयमा किसानको दिन अग्लो रूखको छहारीमुनि बित्ने गरेको हो । वर्षा शुरु हुनुपूर्व पाखोबारीको सबै आलु उकेर्ने दमेकको नेपानेका भीमबहादुर थापा क्षेत्रीलाई अहिले भने फुर्सद नै फुर्सद छ । उहाँ जस्तै उहाँको परिवारका कसैलाई पनि कामको चटारो छैन् । भीमबहादुरका परिवार मात्रै होइन दमेकका चार गाउँका सबै किसान फुर्सदमा छन् यतिबेला । काम नभएर दिन त शीतल छहारीमा बितेको छ तर उनीहरुको चिन्ता भने बढीरहेको छ । दमेकको कालापातल, नौला, देउरालीखानी, दहलगायतका गाउँका किसानको मुख्य बाली हो आलुबाली । यो वर्ष वैशाख महीनादेखि नै परेको वर्षा र असिनाका कारण उनीहरुको बारी रित्तै छ । बारीमा लगाएको आलु बाली असिनापानीले सखाप पारेपछि सबै गाउँका किसान चिन्तित छन् । कामले व्यस्त हुनुपर्ने समयमा शीतलमा बस्न बाध्य भएको स्थानीयवासी कृष्ण भुजेलले बताउनुभयो । आलुको दाना लाग्ने बेलादेखि नै असिनापानीले थिचेका कारण कसैको पनि बारीमा आलु छैन् । वर्षभरि खाने सबै खाद्यान्नको जोहो गर्न यहाँका अधिकांश किसानले आलुको भर गर्थे । खानका लागि स्वादिलो भएकाले यहाँको आलुको माग बजारमा निकै छ । “बारीमा फलेको आलु बेचेर चामल किनिथ्यो”, स्थानीयवासी पवित्रा थापा क्षेत्रीले भन्नुभयो, “अब खाने आटोबाटो छैन ।” अघिल्ला वर्षहरुमा यहाँ पानी परेपनि असिना कम पर्दथ्यो । यो वर्ष निकै ठूलो असिना परेकाले आलुबालीमा पूर्ण क्षति पुगेको वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताउनुभयो । चिसो मौसम भएकाले यहाँ आलु राम्रो फल्ने गरेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताउनुभयो । “यहाँको माटो र हावापानी राम्रो छ”, शर्माले भन्नुभयोे, “व्यावसायिक आलुखेती गर्ने यहाँका किसानलाई असिनाले क्षति पु¥यायो ।” आलुसँगै यहाँका किसानले लगाएको तरकारी बालीमा पनि ठूलै क्षति पुगेको छ । सामान्य मकै, कोदो र फापरबाहेक यहाँ अन्य खाद्यान्न फल्दैन । दैनिकी चलाउने आधार आलु र तरकारी नै मासिएपछि गाउँ नै दुःखी भएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । “आलु मात्रै खाएको छैन, बारीको माटो नै बगाएको छ”, स्थानीय तेजमायाँ विकले भन्नुभयो, “न अव फेरि लगाएर फल्छ न त फलेको उकेर्न दियो ।” सबै बाली नष्ट भएपछि किसानले राहतका लागि माग गरेका छन् । उनीहरुले दैविक विपत्तिका कारण बाली नष्ट भएको भन्दै जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारसँग माग गरेका छन् । “उहाँहरुको बाली क्षतिको विषयमा अनुगमन गरेर तथ्याङ्क सङ्कलनको काम भइरहेको छ”, जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले भन्नुभयो, “राहतका लागि प्रदेश सरकारसँग माग गरेका छौँ ।” स्थानीय सरकारसँग सानो स्रोत रहेकाले किसानको क्षतिको आधारमा राहत उपलब्ध गराउन नसकिने उहाँले बताउनुभयो । “क्षति निकै ठूलो भएको छ हामीसँग स्रोत छैन”, रानाले भन्नुभयो, “किसानले कम्तीमा बीउ, मल र परिश्रमको मूल्य पाउने गरी राहत दिन प्रदेश सरकारसँग माग गरेका छौँ ।” उपल्लो दमेक आलु, भांगो, फापर र तरकारी खेतीका लागि प्रख्यात ठाउँ हो ।
Categorized in राष्ट्रिय