STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इनडोर फिल्म स्टुडियो ‘सिनेपा: ' निर्माणको लागि बोलपत्र आह्वान

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण १९, सोमबार

चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगाल, काभ्रेपलाञ्चोकमा निर्माण गर्न लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा: को लागि दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेश गर्न आह्वान गरिएको हो।

बोलपत्र विवरणअनुसार, स्टुडियो निर्माणको ठेक्का पहिचान नम्बर FDB/Indoor Film Studio/W/NCB/01/2082-083 रहेको छ। परियोजनामा सहभागी हुन चाहने कम्पनीहरूले रु. ३६,००,००० को बोलपत्र सुरक्षा रकम र रु. १०,००० को दस्तावेज शुल्क बुझाउनु पर्नेछ। विस्तृत जानकारी बोर्डको वेबसाइट www.fdbnepal.gov.np तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा उपलब्ध छ।

यसअघि, २०८१ माघ २७ गते चलचित्र विकास बोर्डले पहिलो  टेन्डर आह्वान गरेको थियो। बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपा:’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ। निजी स्तरमा केही स्टुडियोहरू रहेका भए पनि सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक बन्नेछ।

४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यस स्टुडियोले स्वदेशी चलचित्र निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल उपलब्ध गराउनेछ। वर्षौंदेखि योजना स्तरमा रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो।

२०८२ वैशाख ३० गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा सिनेपा: स्टुडियो निर्माण आरम्भ भएको औपचारिक घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले यसलाई नेपाली चलचित्र क्षेत्रका लागि “एक प्रकारको क्रान्ति” भनेका थिए। “छ दशकअघि देखिको सपना अब साकार हुँदैछ,” उनले भने, “राज्यसँग धेरै बजेट नभए पनि सुरु गरिएका कामहरू पूरा हुन्छन्। सिने क्षेत्रप्रति हाम्रो प्रतिबद्धता दृढ छ।”

सिनेपा: को निर्माणले नेपाली फिल्म उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको खाँचो पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Categorized in सिनेमा