इन्डियन आइडल पवनदीप राजन र प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २३, बिहिबार
भारतको टेलिभिजन इतिहासमा नै अत्यन्त लोकप्रिय मानिएको इन्डियन आइडल १२ का विजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा रेकर्ड गरिएको कर्णप्रिय नेपाली गीत हालै सार्वजनिक भएको छ।
गीतकार एसपी सापकोटाको शब्द रचना रहेको "घामझैं बलेकि ” बोलको गीत बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीत आकर्षक भिडियोका साथ सार्वजनिक गरिएको छ। यो पवनदीपको पहिलो नेपाली गीत हो। पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकोले यो गीत गाएको बताए ।
गीतमा शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको कैलाश स्टुडियोमा रेकर्ड गरिएका गीत मुम्बईका मिक्सीङ्ग इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् ।
गीतको भिडियो पछिल्लो समयमा नेपाली फिल्ममा निकै ब्यस्त बनेका डिओपी सुदिप बरालले निर्देशन गरेका छन्। बरालकै डिओपी रहेको भिडियो गीतअनुसार निकै आकर्षक र लोभलाग्दो बनेको छ। गीतको भिडियो पोखरा र त्यसको वरिपरी रहेका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ। भिडियोलाई स्तरिय बनाउन कुनै पनि कसर बाकी नराखेको कुरा निर्देशक सुदीप बरालले बताए। भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकि चर्चित मोडल आश्मा बिश्वकर्माले अभिनय र नृत्य गरेका छन्। राजकुमारले यस अघि नेपाली फिल्म साइनोमा अभिनय गरेका थिए।
भिडियोमा कोरियोग्राफी मौसम हिमाली र सम्पादन सम्पादक प्रबिण भट्टको रहेको छ। गीतको भिडियो कर्म एसपी सापकोटा युट्युब च्यानलमाबाट सार्वजनिक गरिएको छ।
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
Categorized in साहित्य-कला

