STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

९।९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन्न भएको छ । आन्तरिक परीक्षण सम्पन्न भएसँगै आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्रीका लागि निवेदन लिएको छ । “हामीले आयोजनालाई ग्रिडमा जोड्नका लागि निवेदन दिइसकेका छौँ”, नेपालले भन्नुभयो “यसका लागि प्राधिकरणले तयारी अघि बढाएको जानकारी पाएका छौँ ।” आगामी हप्ता ९।९ मेगावाटको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपालको विश्वास छ । विसं २०७३ मङ्सिरमा निर्माण शुरु भएको यो आयोजना २०७५ मङ्सिरमै पूरा हुनुपर्ने प्राधिकरणसँगको सम्झौता थियो । तर आयोजना जोडिने नेपाल विद्युत् प्राधिकरणको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न नहुँदा आफूहरूले निरन्तर काम गर्न नसकेको प्रबन्धक नेपालको भनाइ छ । “हामीलाई निर्धारित समयमा काम पूरा गर्न कुनै समस्या थिएन । तर विद्युत् जडान गर्ने ग्रिड निर्माण नहुँदा काममा ढिलाइ गर्नुप¥यो”, नेपालले भन्नुभयो । काबेली करिडोरको तेस्रो खण्डसमेत निर्माण पूरा भई परीक्षण भइरहेकाले परीक्षण सकिनेबित्तिकै आयोजना करिडोरमा जोडिने प्रबन्धक नेपालले बताउनुभयो । यो आयोजना काबेली करिडोरको पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरको दुवीचौरमा रहेको सवस्टेशनमा जोडिनेछ । आयोजनाले वर्षायामको ६ महीना १० मेगावाटसम्म तथा हिउँदका केही महीना ३।५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने प्रबन्धक नेपालले जानकारी दिनुभयो । इवाखोला आयोजना ताप्लेजुङ तथा पाँचथरको जिल्लाको सिमाना भएर बहने इवाखोलाको बायाँ किनारामा निर्माण सम्पन्न भएको हो । यो आयोजना पाँचथरको साविक थर्पु गाविस तथा ताप्लेजुङको साविक साब्लाखु गाविसमा अवस्थित छ ।
Categorized in राष्ट्रिय