उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार
उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो ।
दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताउनुभएको छ ।
दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले गरेको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको उल्लेख छ । पहिलो क्षेप्यास्त्र करिब ४३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भए पनि अर्को क्षेप्यास्त्र ६९० किलोमिटर टाढा पुगेको उनीहरुको विश्लेषण छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच गत महिना एकाएक दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएपछि यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफल अगाडि बढाउने सहमति भएको थियो ।
विश्लेषकहरुले अर्को महिना हुन लागेको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् ।
गत मे महिनामा पनि उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनालाई सामान्य रुपमा लिँदै राष्ट्रपति ट्रम्पले सानातिना घटनाले दुई मुलुकबीचको सम्बन्धमा असर नपार्ने बताउनुभएको थियो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई मुलुकबीच हाल अबरुद्ध रहेको वार्ता मध्य जुलाईमा शुरु हुनसक्ने यसअघि बताउनुभएको थियो तर गत साता उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासले वार्तामा असर पर्ने जनाएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय