उद्यमी बनाउन सीपमूलक तालीम
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १४, मंगलबार
सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समितिले ५९८ जनालाई विभिन्न तालीम प्रदान गरेको छ । कार्यालयले एक वर्षको अवधिमा जिल्लाका १० स्थानीय तहका ३९८ महिला र २०० पुरुष गरी ५९८ लाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको हो ।
सर्वसाधारणको माग र अहिलेको आवश्यकतालाई मध्यनजर गरी उद्यमी बनाउने उद्देश्यका साथ चार नगरपालिका र छ गाउँपालिकाका बेरोजगार युवायुवतीलाई सीपमूलक तालीम दिइएको कार्यालयका निर्देशक विमला धितालले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकामा ३९ महिला र ४९ पुरुष गरी ८८, भानु नगरपालिकामा ४४ महिला र २५ पुरुष गरी ६९, शुक्लागण्डकी नगरपालिकामा ३४ महिला र २० पुरुष गरी ५४ र भिमाद नगरपालिकामा ४७ महिला र १२ पुरुष गरी ५९ जनालाई सीपमूलक तालीम प्रदान गरिएको छ ।
म्याग्दे गाउँपालिकामा ३९ महिला र १६ पुरुष गरी ५५, ऋषिङ गाउँपालिकामा ३९ महिला र १० पुरुष गरी ४९, आँबुखैरेनी गाउँपालिकामा ४८ महिला र आठ पुरुष गरी ५६, देवघाट गाउँपालिकामा ४० महिला र २० पुरुष गरी ६०, घिरिङ गाउँपालिकामा २१ महिला र ३१ पुरुष गरी ५२ र बन्दीपुर गाउँपालिकामा ४७ महिला र नौ पुरुष गरी ५६ जनालाई सीपमूलक तालीम प्रदान गरिएको निर्देशक धितालले बताउनुभयो ।
उनीहरुलाई मौरीपालन, सिलाइकटाइ, ब्युटीपार्लर, हाउस वायरिङ, मोटर ड्राइभिङ, बाँसबाट मुढा, कुचो बनाउने, आरन सुधार तथा फलामको कलात्मक वस्तु बनाउने, नागा सल बुनाई, विद्यालय झोला, फेसन डिजाइन, पञ्चेबाजा बजाउने, फलफूल प्रशोधन, अचार तथा जुस, प्लम्बिङ, मोबाइल मर्मत, वातावरणमैत्री झोला बनाउनेलगायतका सीपमूलक तालीम प्रदान गरिएको छ ।
तालीम लिइसकेपछि युवायुवतीले आफैँले व्यवसाय शुरु गरेका छन् । “तालीम पाइसकेपछि अधिकांशले आफैँले व्यवसाय शुरु गरिसकेको अनुगमनबाट पाएका छौँ”, धितालले भन्नुभयो, “कार्यालयले प्रदान गरेको सीपमूलक तालीम फलदायी भएको छ ।”
Categorized in राष्ट्रिय


