STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपचुनाव : चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १०, आइतबार

काठमाडौँ - चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु भएको छ । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निधर्क्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ । तोकिएको मतदान केन्द्रमा उपस्थित भइ मतदान गर्नुपर्नेछ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन वटा क्षेत्रमा ६५ जना उम्मेदवार छन् । चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् ।

चितवन–२ मा राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् । २२ जना उम्मेदवार रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । नौ जना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । त्यहाँ दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, रास्वपाबाट पूर्वडीआईजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धाको आकलन छ ।

Categorized in राजनीति